चौँरी र भेडा प्रवद्र्धन गर्दै सिदिङ्वा
फुङ्लिङ, १५ माघ : सिदिङ्वा गाउँपालिकाले चौँरी र भेडा प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको छ । यसका लागि गाउँपालिकाले पशु व्यवसायीहरुलाई अनुदान सहित बीमाको व्यवस्था गर्दै आएको कृषि शाखा प्रमुख विकास थेबेले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय सरकाले भेडीगोठ प्रवद्र्धन कार्यक्रम अन्तर्गत रु ८० लाख विनियोजन गरेको छ । व्यावसायिक भेडापालक कृषकलाई ८० प्रतिशत अनुदान दिने गाउँपालिकाले कार्ययोजना बनाएको छ । यसका लागि ४० माउभेडा अनिवार्य हुनुपर्ने प्रावधान बनाइएको छ ।
भेडाको ऊनबाट तयार भएको राडीपाखी, कोट तथा विभिन्न सजावटका सामग्री तयारी गरी प्रवद्र्धन योजना गाउँपालिकाले बनाएको छ । गत वर्ष रु २० लाखको पशु बीमा कार्यक्रम सञ्चलान गरिएको गाउँपालिकाका लेखा अधिकृत वीरेन्द्र सिग्देलले बताउभयो । बीमा शुल्क रु एक हजार १०० को प्रति पशु बीमा शुल्क गाउँपालिकाले तिरिदिएर पशुको बीमा गरेको छ । अहिलेसम्ममा सात बीमा भुक्तानी भइसकेको र केही प्रक्रियामा रहेको कृषि शाखाले जनाएको छ । गाउँपालिकामा छ भेडाफार्म र सात चौँरीफार्म दर्ता भएका छन् ।(रासस)
