Connect with us

खोटाङमा निजी आवास पुनःनिर्माणको काम ७५ प्रतिशत सम्पन्न

खोटाङ, १३ माघ : दश स्थानीय तह रहेको खोटाङ जिल्लामा निजी आवास पुनःनिर्माणको काम ७५.०८ प्रतिशत मात्र सम्पन्न भएको पुनःनिर्माण प्राधिकरणले जनाएको छ । नेपालमा भूकम्प गएको पाँच वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सोमबार खोटाङको दिक्तेल बजारमा आयोजना गरेको निजी आवास पुनःनिर्माणसम्बन्धी जिल्लास्तरीय अन्तक्र्रिया कार्यक्रममा प्राधिकरणले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त नौ हजार ३१० लाभग्राहीमध्ये सात हजार ३९८ घर लाभग्राहीले पुनःनिर्माणको काम सम्पन्न गरेर तेस्रो किस्तासमेत लिएको जनाइएको छ । पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ खोटाङका अनुसार २४२ घर लाभग्राहीले अहिलेसम्म आफ्नो निजी आवास पुनःनिर्माणका लागि सम्झौता नै नगरेको जनाइएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आठ हजार ६० लाभग्राहीले दोस्रो किस्ता लिएको पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ खोटाङका प्रमुख घनश्याम उपाध्यायले बताउनुभयो । “दोस्रो किस्ता बुझ्ने अधिकांश लाभग्राहीले आफ्नो घर पुनःनिर्माणको काम सम्पन्न गरिसकेका छन्”, उहाँले भन्नुभयो, “पुनःनिर्माणको काम सकेका लाभग्राहीलाई तेस्रो किस्तासमेत दिने काम भइरहेको छ ।”
अन्तक्र्रिया कार्यक्रममा झुटो विवरण पेश गरेर सम्झौता गरी पहिलो किस्ता बुझ्ने एक जनाबाट रकम फिर्ता तथा दोहोरो भुक्तानी लिने तीन लाभग्राहीबाट रकम असुल गरिएको जनाइएको छ । यस्तै भूमिहीनलाई जग्गा खरिद गर्न उपलब्ध गराइने रु दुई लाखका लागि जिल्लाभरमा पाँच जना पहिचान भएकामा चार जनाले उक्त रकम बुझेको र बाँकी एक जनासँग पनि सम्झौताको काम सम्पन्न गरिएको कार्यान्वयन एकाइका सूचना अधिकारी मणिराम ढकालले जानकारी दिनुभएको छ ।

पुनःनिर्माण प्रबलीकरणतर्फ ९७१ घर लाभग्राही छनोट भएकामध्ये ७८५ घरले सम्झौता गरेर काम थालेको र १८६ घरले सम्झौता नै नगरेको जनाइएको छ । सम्झौता नगर्नेमा अधिकांश जिल्ला छाडेर बाहिर घर बनाएर बसेका तथा कतिपय लाभग्राहीको मृत्युसमेत भएको पाइएको प्राधिकरणले जनाएको छ । अन्तक्र्रिया कार्यक्रममा सहभागी वक्ताले कतिपय ठाउँमा नक्कली लाभग्राही बनेर अनुदान लिएको र वास्तविक लाभग्राहीले अहिलेसम्म अनुदान नपाएको गुनासो गरेका छन् । प्राधिकरणले उपलब्ध गराउने रातो कार्ड प्राप्त व्यक्तिले समेत अहिलेसम्म अनुदान नपाएको रावाबेँसी गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताउनुभयो । जिल्लास्थित सम्पूर्ण स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँग गरिएको अन्तक्र्रियामा दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राईले प्राधिकरणको लापरवाहीका कारण पुनःनिर्माणको कामले गति लिन नसकेको बताउनुभयो । “प्राधिकरणका कर्मचारी खोज्दाखोज्दै भूकम्प गएको पाँच वर्ष बित्यो”, उहाँले भन्नुभयो, “यसप्रति सम्बन्धित निकायको बेलैमा ध्यान जानुपर्यो । अन्यथा पुनःनिर्माणसम्बन्धी प्रभावकारी काम हुने छैन ।”

पुनःनिर्माण प्राधिकरणकै लगानीमा कालोपत्रको काम थालिएको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकको कामसमेत गुणस्तरहीन भएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । याक्थुम्हाङ÷साप÷सिरुवा जेभीले रु २१ करोड एक लाख ८८ हजार १५३ मा कालोपत्रको जिम्मा लिएको उक्त सडक १०.९७४ किलोमिटर लामो छ । विसं २०७६ चैत ७ गते सम्पन्न गर्नुपर्ने उक्त सडक कालोपत्रको काम ठेकेदार कम्पनीको लापरवाहीले सम्पन्न नभएपछि पुनः एक वर्षका लागि समय थप गरिएको छ । सगरमाथा राजमार्ग हुँदै तराईका जिल्ला जोड्ने उक्त सडक कालोपत्रको काम करिब ४५ प्रतिशत मात्र सम्पन्न भएको प्राधिकरणले जनाएको छ । अन्तक्र्रियामा उठेका प्रश्नको जवाफमा आयोजना प्रमुख श्यामकिशोर सिंले छुटेका लाभग्राहीको विवरण अझै पेश गर्ने समय रहेकाले सम्बन्धित निकायमा सिफारिस गर्न जनप्रतिनिधिलाई अनुरोध गर्नुभयो । अन्तक्र्रिया कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.