Connect with us

सङ्घर्षले मालिक बनेकी दीपा

इलाम, ८ माघ : रोजगारी नपाएर विदेशिनेको सङ्ख्या बढिरहेको छ । स्वदेशमा श्रम गर्न नचाहने तर विदेशमा नङ्ग्रा खियाउन तयार पर्ने युवा जमात बढ्दो छ । यतिमात्र कहाँ हो र, स्वदेशमै पनि भए सरकारी नभए पनि अब्बल किसिमका अन्य जागिरमा होमिन खोज्नेको सङ्ख्या पनि कम छैन । यसैले धेरैले भन्छन्, “नेपालमा रोजगारीको वातावरण नै छैन ।” धेरैलाई यस्तै लाग्छ ।

यसको मतलब रोजगार हुन चाहने भीड ठूलो छ तर केही मात्र रोजगार छन् । यही माटोमा आफैँले मालिक बनेर रोजगारी दिन सकिन्छ भन्ने उदाहरणीय पात्र कम्ती छन् । धेरै जोखिम र प्रशस्त लगानी खन्याउनुपर्ने बुझेका युवा जमातले यसको साटो वैदेशिक रोजगारीलाई उत्तम विकल्प ठान्छन् । प्रशस्त कमिने लोभमा लहलहैमा विदेशिनेमध्ये कोही सासमात्र लिएर फर्किन्छ त कोही त लास बनेर फर्किन्छन् । स्वेदशमै लगानी गरेर रोजगारी दिँदै गरेकी दीपा गुरुङ भने यस्तो एक उदाहरण हुनुहुन्छ जो आफैँले खोलेको उद्योगमा ३५ महिला र दुई पुरुषलाई रोजगारी दिइरहनुभएको छ । इलाम सदरमुकाममै ललिपप उद्योग सञ्चालन गरिरहनुभएकी दीपाले उद्योगकै कमाइले छोराछोरी पढाउने काम गर्दै हुनुहुन्छ भने जग्गा किनेर घर पनि बनाउनुभएको छ ।

दीपाको यो कमाइ भने केही समयको सङ्घर्षले मात्र भएको होइन । यतिको कमाउनका लागि दीपाले अनेक प्रयत्न गर्नुभयो । विसं २०६० मा पाँच लाख ऋणबाट उहाँले उद्योग शुरु गर्नुभएको हो । अरूले जस्तै उद्योग खोल्नुपूर्व दीपाले पनि अनेक सोच्नु भयो । अर्थोपार्जनकै लागि सहकारीको रकम उठाउनेदेखि अनेक दुःखका काम गर्नुभयो तर पटक्कै चित्त बुझेन । यस्तो कमाइबाट खानलाउन नै धौधौ भयो । छोराछोरी पनि पढाउनुपर्ने अनि घर पनि सम्हाल्नुपर्ने बाध्यता आइलाग्यो । रोजगारीका लागि उहाँको श्रीमान् विदेश जानुभयो तर पनि घर व्यवहार सुध्रिएन । व्यवहार सुधार्नकै लागि दीपाले सदरमुकामकै एक ललिपप उद्योगमा काम गर्न थाल्नुभयो । उद्योगमा काम गर्न थालेपछि कमाइ हुन थाल्यो भने नयाँ सीप सिक्न पाइयो । यत्तिकैमा दीपालाई उद्योग खोल्न मन लाग्यो । पारिवारिक सल्लाहबमोजिम नै उहाँले ललिपप उद्योग सञ्चालनमा ल्याउनुभयो । सीमित बजारमा बजारीकरण गर्दा कति ललिपप उत्पादन गर्नुपर्ने पत्तो थिएन । दीपाले सामान्य परिकार बनाउँदै ललिपप बजार पुर्याउन थाल्नुभयो ।

शुरुमा आफूसहित सात जनाले उद्योग सञ्चालनमा ल्याउनुभयो । त्यसबेला उद्योग खोल्दा उहाँसँग न भवन थिए, न भाडाकँुडा, न स्रोतसाधन नै । दूधबाट बनाउनुपर्ने परिकार भएकाले खटाइ पनि उस्तै किसिमको पथ्र्यो । अनेक दुःख र अभावबाट गुज्रिँदै दीपाले उद्योग सञ्चालनमा ल्याउँदै जानुभयो । इलामबाट बाहिरिनेको मुख्य कोसेलीका रूपमा हारालुछ बिक्ने ललिपपले झनै बजार लिँदै गयो । दीपाले पनि उद्योगमा कर्मचारी बढाउँदै जानुभयो भने जेथा पनि थप्दै जानुभयो । बजारीकरणमा समेत राम्रै उपलब्धि हासिल भएपछि ललिपपले पनि राम्रै बजार पायो । अहिले यही उद्योगको सामान काठमाडौँसम्म पुग्छ । शुरुमा इलामको आसपासमात्र बजार फिजिएको उद्योगको धेरैतिर बजार पुगेको छ । “अहिले उद्योगको प्रगतिले सन्तुष्ट छु”, दीपा भन्नुहुन्छ । अहिले दीपाका श्रीमान्समेत फर्किएर उद्योगमै काम गर्नुहुन्छ । उहाँले बजारीकरणमा सहयोग गर्दै हुनुहुन्छ । श्रीमान्समेत जोडिएपछि त दीपाका लागि झनै सहज भएको छ । यसै डेरीको कमाइले दीपाले छोरीलाई स्टाफ नर्स बनाउनुभयो भने छोरालाई कक्षा १२ मा पढाउँदै हुनुहुन्छ । “जोखिम चाहिँ धेरै मोल्नुपर्छ । सहज त कहाँ छ र ?”, दीपा भन्नुहुन्छ, “एकदिन घाटा भयो भनेर आत्तिनु पनि हुँदैन । विस्तारै गर्दै जाँदा हुँदो रहेछ ।” स्थानीय वस्तुलाई नै बजारीकरण गर्नुपर्छ भन्ने बुझेकाले ललिपप उद्योग खोलेको दीपाको भनाइ छ । अहिले दीपाको उद्योगमा छ प्रकारका ललिपप बन्छ । बजारको मागअनुसार अन्य किसिमका ललिपप पनि बन्छन् ।

महिलाको मर्म बुझ्ने महिला मालिक
दीपाको उद्योगमा काम गर्ने अधिकांश श्रमिक वैदेशिक रोजगारबाट फर्किएका र एकल महिला छन् । समस्यामा परेका महिलालाई रोजगारी दिँदा पारिश्रमिक पनि मिल्ने र सीप पनि सिक्ने गरेको दीपाको भनाइ छ । आफ्ना दुःखका दिन सम्झेर महिलालाई नै प्राथमिकतामा राखेको उहाँको भनाइ छ । “विदेशबाट फर्किएर पुनः विदेशिने सोच बनाउनुभएको र एकल महिला भएर काम दाम नभएका धेरैले यहाँ रोजगारी पाउनुभएको छ”, दीपा भन्नुहुन्छ, “अरूले त जे गरेर खान्छन् । दुःखमा परेकालाई सहयोग गर्नु हाम्रो कर्तव्य हो नि ।”

व्यक्तिगत लगानीमा अन्य क्षेत्रको सहयोग भए अझै उल्लेखनीय प्रगति हुने दीपाको भनाइ छ । सरकारी क्षेत्रबाट सहयोग नभएकामा भने दीपा निराश हुनुहुन्छ । “हामीले राज्यलाई कर बुझाउँछाँै । हामीलाई पनि हेर्नुपर्यो नि”, दीपा भन्नुहुन्छ, “एकतिर मात्र होइन धेरैतिर कर तिर्नुपर्छ तर सेवासुविधा छैन ।” अहिले उहाँको उद्योगको कमाइबाट मासिक सददर रु ६० हजार आम्दानी हुन्छ । धैर्यका साथ काम गरेकाले सफल भएको दीपाको भनाइ छ । “धैर्य भएर काम गर्नुपर्छ । नाफा÷घाटामा डराउनु हुँदैन । अनि मात्र सफल भइदो रहेछ”, दीपा भन्नुहुन्छ, “जाँगर चलाएर काम गर्नुपर्छ । नभए त लगानी डुब्ने खतरा हुन्छ ।”

कोरोनाले खस्किएको बजार
कोरोना महामारीपछि भने ललिपप उद्योग खस्किएको दीपाको भनाइ छ । पहिले जस्तो बजार नभएकाले धेरैलाई रोजगारीसमेत दिन नसकेको उहाँको दुखेसो छ । उद्योगमा कार्यरत ३५ कामदारमध्ये केहीलाई काम दिनै नसकेको दीपा बताउनुहुन्छ । बन्दाबन्दीमा ठप्प भएको उद्योग र त्यसपछि पनि बजारमा नबिकेकाले उद्योग नै धरासायी भएको छ । “कोरोनाअघि प्रतिदिन एक हजार २०० लिटरसम्म दूध खपत हुन्थ्यो तर अहिले त्यस्तै ६०० लिटर जति मात्र छ”, दीपा भन्नुहुन्छ, “बजारबाट माग नै आउँदैन । के गर्ने ?”(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

news3 weeks ago

शेरधन राइले चिनेकै छैन भन्दा बालिका ले ६ बर्ष देखी यौन शोशणको कुरा किन गरिन भन्दा यस्तो बबाल (भिडियो हेर्नुहोस)

Other1 week ago

श्रीमान र ५ बर्षे छोरालाई छोडेर हिडेकी सन्तोषी यस्तो अवस्थामा फेला परिन, बुझ्नै गाह्रो (भिडियो हेर्नुस्)

news2 weeks ago

यिनै हुन् दाङमा भारतीय कार भित्र मृत्यु भएका ३ जना बालक , आखिर कसरी आए ति बालक कार भित्र ? पहिलो पटक शव देख्ने ब्यक्तिले गरे यस्तो खुलाशा (भिडियो हेर्नुस)

Other3 weeks ago

यस्तो छोरो जन्माइस भन्दै तेजेन्द्रले कुटथ्यो भनेर सचिनको आमाले आरोप लाएपछी बाहिरियो अरुपनी कर्तुत (भिडियो सहित)

Other2 weeks ago

३ महिना देखि पार्किङ्ग गरेको कार भित्र कसरी भेटियो ३ बालकको शव ? बालकको आमाले रुँदै सुनाइन् (भिडियो हेर्नुस्)

Copyright © 2017 ostake.