Connect with us

मिथिलामा सामाचकेवा समापनको तयारी

महोत्तरी, १२ मङ्सिर : मिथिलामा दाजुभाइ÷दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने सामाचकेवा पर्व अहिले उत्कर्षमा छ । मिथिलाका गाउँनगर बस्तीका चोक अचेल सामाचकेवाका कर्णप्रिय गीतले गुञ्जिरहेका छन् । मिथिलानी (मिथिलाका नारी)ले दाजुभाइको सौर्य वृद्घिको कामनासहित मनाउने यो लोकपर्व कात्तिक शुक्ल पञ्चमीका दिन शुरु भएर अब पूर्णिमाका दिन समापन गरिने तयारी छ । छठपर्वको खरना (कात्तिक शुक्ल पञ्चमी)का दिन शुरु भएको यो पर्व अहिले समापनको नजिक पुगेको छ । यसपालि यही मङ्सिर ४ गते शुरु भएको यो पर्व पूर्णिमा तिथिको दिन आउने सोमबार मिथिलानीले समापन गर्नेछन् । बोलीचालीमा सामा भनिने ११ दिनसम्म मनाइने यो पर्व समापनको केही दिन बाँकी हुँदा मिथिलानी आफ्ना दाजुभाइलाई डाक्न अहिले व्यस्त छन् । पर्वको समापनमा दाजुभाइबाट सामाचकेवा खेलका माटाका आकृति घुँडामा राखेर फुटाउन लगाउने विधि र उनीहरुलाई मिष्ठान्न परिकार खुवाउने परम्पराले दिदीबहिनी आफ्ना दाजुभाइलाई डाक्न अहिले व्यस्त भएका हुन् ।

“हमर भाइ अई बेर जरुर आओत, ऐखने हम वात कैलिय” (मेरा भाइ यसपालि सामा समापनमा अवश्य आउनेछन्, मैले उनलाई खबर गरिसकेकी छु), सामा समापनको तयारीमा जुटेकी महोत्तरीको भङ्गाहा नगरपालिका–४ थारूटोल बनराकी आसवती चौधरी (थारू) ले भन्नुभयो । आफ्ना दाजुभाइप्रति प्रेम र समर्पण दर्शाउँदै उनीहरुको सौर्य बखान गरेर रातिको समयमा गीत गाउँदै मनाइने सामाचकेवा पर्व रमाइलो खेल पनि भएको मिथिलानी बताउँछन् । “चकमन्न रातमा साथीहरु जम्मा हुन्छाँै, गीत गाउँछौँ, त्यसबेला ठट्टा परिहास पनि हुन्छ, अनि खेल भएन त..?”, सामा रमाइलो खेल भएको बताउने महोत्तरीकै मटिहानी नगरपालिका–७ की दिपीका साह भन्नुहुन्छ, “आफ्ना दाजुभाइप्रति गौरवबोध गर्नु र आपसी सम्बन्ध प्रगाढ बनाउने सन्देशसँगै आपसी (सामा खेल्नेहरु) ठट्टा परिहासले ११ दिन बितेको पत्तै हुँदैन ।”

यसपालि भने यसअघिका वर्षजस्तो सामा खेलमा महिला सहभागिता देखिँदैन । कोभिड–१९ सङ्क्रमण सन्त्रासले चोकचोकमा जम्मा हुने दिदीबहिनीको सङ्ख्या घटेको मिथिलानी बताउँछन् । यद्यपि सगोल घरका दिदीबहिनीले आफ्नै घरअघि जम्मा भएर सामा गाउने परम्परा भने थेगेका देखिँदोछ । मध्यरातसम्मको चकमन्न समयमा नगर, गाउँबस्तीको चौबाटोमा समूहमा जम्मा भएर दिदीबहिनीले गीतमार्फत आपूmहरुप्रति दर्शाएका प्रेम र समर्पण भावले रोमाञ्चित गराउने मिथिलाका युवा बताउँछन् । “कात्तिक मासे यौ भैया सामा लेलक अवतार, सयौँ बरख जियाँै यौ भैया सामा लेलक अवतार’ (हे दाजुभाइ हो, कात्तिक महिनामा सामा (खेलकी प्रमुख स्त्रीपात्र)ले फेरि अवतार लिएकी छन् । तिमी सयौँ वर्ष बाँच्छाँै, सामा (बहिनीको भाव)ले फेरि अवतार लिइसकेकी छन् ।) दाजुभाइको दीर्घायुको कामनामात्र नभएर मिथिलानीहरु सामा गीतमा आफना दाजुभाइ बहादुर, परोपकारी र दिदीबहिनीप्रति अपार स्नेह भएका पनि गीतबाटै भाव व्यक्त गर्दछन् । यस्ता गीत सुनिरहँदा आफ्ना दिदीबहिनी हुनेहरु खुशीले दङ्ग हुन्छन् भने दिदीबहिनी नहुनेलाई मेरा चाहिँ किन दिदीबहिनी भएनछन् भन्ने भाव पैदा हुने गरेको महोत्तरीकै एकडारा गाउँपालिकाको भटौलिया गाउँका युवा सामाजिक कार्यकर्ता प्रवीण कर्ण बताउनुहुन्छ ।

“चलु बहिना सामा खेल भैयाके आँगन हे..जुगजुग जियथिन भैया अपन हे…!’ (हिँड दिदीबहिनी हो (सामा खेल्न तयार भएकी एक महिलाले अर्की महिलालाई भन्दैछिन्) सामा खेल्न दाजुको आँगनमा जाऊँ, हाम्रो कामनाले दाजुभाइ युगयुगसम्म बाँच्नेछन् ।) मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग रहेको सामाचकेवा पर्वले ‘छोरी’ नचाहिने भन्नेलाई पनि ‘छोरी’ को रहर जगाउने गरेको पाइएको छ । ‘‘चोकचोकमा अरुका दिदीबहिनीले सामाका गीत गाएर आफ्ना दाजुभाइको सौर्य बखान गरेको सुन्दछु”, आफ्ना दिदीबहिनी नभएका बर्दिवास–९ पशुपतिनगरका ३० वर्षीय अमरचन्द्र महतो भन्नुहुन्छ, “के गराँै…? आफ्ना दिदीबहिनी भएनन् ।” यही दिदीबहिनी नभएको न्यास्रोले अब आफ्ना छोराहरुले न्यास्रिनु नपरोस् भनेर एउटी छोरीको कामनामा दुई छोरा भइसक्दा पनि परिवार नियोजन नगरेर अझै छोरी पर्खेको महतोको भनाइ छ । पर्वमा मिथिलानीले सतभैया (सप्तर्षी), चुगला, सामा र चकेवाका माटाका आकृति अगाडि राखेर गीत गाउँदै प्रत्येक दिन चुगलाको दाह्रीमा आगोले झोस्दै त्यो दिनको खेल सम्पन्न गर्ने गर्छन् । पर्वको अन्तिम दिन (कात्तिक पूर्णिमा) मा दाजुभाइका हातबाट ती आकृति फुटाउन लगाएर जोतिएको खेत वा निर्जन वनमा गाडेर पर्व समापन गरिन्छ । यस अवसरमा दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणावापत दिने गरेका छन् ।

दाजुभाइ दिदीबहिनीप्रति यस्तो प्रेम दर्शाउने यो पर्व करिब साढे पाँच हजार वर्ष पहिले द्वापर युगबाट शुुरु भएको मिथिला संस्कृतिका जानकार बताउँछन् । द्वापर युगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर (चकेवा)सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे (चुगला)ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृत्तिकी भई भन्ने रिसमा दुवै (सामा र चकेवा) लाई चरा हुने श्राप दिएको पौराणिक कथा प्रसङ्ग यो पर्वको परिवेश रहेको मिथिलामा विश्वास गरिन्छ । कृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चकेवा (चक्रधर) को मुक्तिका लागि कृष्णपुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने वरदान पाएर कृष्णसँग गरेको याचनाबाट उनीहरु श्रापमुक्त भई पूर्व योनीमा आएर विवाह गर्न पाएका पौराणिक वर्णन रहेको पाइन्छ । दाजु साम्बको त्यही गुनलाई सम्झँदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामाचकेवा पर्वको परम्परा बसेको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस)का साहित्य विषयका उपप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।
मिथिलामा दाजुभाइ÷दिदीबहिनीबीच प्रेम दर्शाउने भैयादुज, राखी र सामाचकेवा पर्व परम्परा रहेका छन् । भैयादुज कात्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी विजय तिलक र माला लगाएर मनाउँछन् । त्यस्तै साउन पूर्णिमामा दाजुभाइका हातमा सप्तरङ्गी डोरा (राखी) बाँधी दिएर दिदीबहिनीले सौर्यवृद्धिको कामना गर्छन् । अनि कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म सामाचकेवा मनाइन्छ । भैयादुज र राखी पर्व सत्ययुगमा राजा बलिका बहिनी गङ्गा र यमुनाले शुरु गरेका र सामा भने द्वापर युगमा श्रीकृष्ण पुत्री सामाले दाजुप्रति कृतज्ञता जनाउन गरेकी सम्झनाको निरन्तरता भएको मैथिल बताउँछन् । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.