Connect with us

प्रदेशसभा हलको शिलान्यास

विराटनगर, १ असोज : प्रदेशसभा सचिवालय प्रदेश नं १ विराटनगरको प्रदेशसभा भवनको आज यहाँ एक समारोहको बीच सभामुख प्रदीपकुमार भण्डारीले शिलान्यास गर्नुभएको छ । सातौँ अधिवेशन नयाँ भवनमा सञ्चालन गर्ने गरी तयार गर्न स्वामीनारायण निर्माण सेवा प्रालि धरानले रु दुई करोड ५१ लाख ८१ हजार ९७६ मा ठेक्कामा लिएको छ । निर्माण कम्पनीले अगामी फागुन मसान्तभित्रमा निर्माण सम्पन्न गर्ने सो भवन जिल्ला समन्वय समितिको परिसरभित्र निर्माण भइरहेको छ । उक्त भवनको हल करिब ३०० मानिस अट्ने क्षमता भएको सुविधा सम्पन्न हुने बताइएको छ ।

सभामुख भण्डारीले विगतमा अनेक बाधा अड्चनका बाबजुद सञ्चालन भएको सभा अब नयाँ भवनले सहज एवं सरल हुने बताउनुभयो । उहाँले भवन समयमै निर्माण गर्न र गुणस्तरीयमा विशेष ध्यान दिन निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले निर्माण गर्न लागेको यो पहिलो संरचना हो भन्नुभयो । मन्त्री कार्कीले नीति निर्माण गर्ने सार्वभौम थलोका रूपमा रहेको प्रदेशसभाको हल निर्माण भएपछि सभा सञ्चालन गर्न सहज हुने बताउनुभयो । उहाँले भवनको गुणस्तरमा कुनै कमी हुन नदिन निर्माण कम्पनीलाई खबरदारी गर्दै अगामी दिनमा सभा सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले नयाँ भवनले प्रदेशसभाको सभा सञ्चालन गर्न निकै सुविधा हुने भन्दै भवन समयमै निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले यो भवनले प्रदेशसभामा सहभागी हुने सांसदहरुलाई सहज हुने भन्दै भवनको गुणस्तरमा सबै ध्यान दिनुपर्ने बताउनुभयो । जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले ढिलो भए पनि बन्न लागेको यो भवनले संसद्मा छलफल एवं नीति निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समिति मोरङका संयोजक नरेशप्रसाद पोखरेलले जिल्ला समन्वय समितिको एक बिघा तीन कठ्ठा क्षेत्रफलभित्र बन्न लागेको भवनले संसद् सञ्चालन गर्न सुविधा पुगोस् भन्ने शुभकामना दिनुभयो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले साविक जिल्ला विकास समितिको सभाहलमा प्रदेशसभा सञ्चालन गर्न निकै कठिनाइ व्यहोरिरहेको अवस्थामा यो भवनले सहज हुने विश्वास व्यक्त गर्नुभयो । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.