Connect with us

हाब्रे प्रजनन केन्द्र स्थापना

पशुपतिगनर, १ फागुन (रासस) दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा) को प्रजनन केन्द्र इलामको सन्दकपुर गाउँपालिकामा स्थापना भएको छ । जिल्लाको सन्दकपुर गाउँपालिका १, २ र ३ (माईपोखरी–सुलुबुङ र माइमझुवा) को सङ्गमस्थल टप्पुमा प्रजनन केन्द्रको स्थापना गरिएको हो ।

कुकुर र जङ्गली जनावरका सिकारको जोखिममा परेपछि गाउँपालिकाले रेडपान्डाको उत्पादन वृद्धि गराउने गरी प्रजनन केन्द्र स्थापना गरेको हो । विगतमा चोरी तस्करी हुने गरेको रेडपान्डाको संरक्षणका लागि ट्रयापिङ क्यामरा जडानपछि चोरी तस्करीमा नियन्त्रणमा आएको गाउँपालिकाका प्रवक्ता गिरिराजमणि खनालले बताउनुभयो ।

लजालु प्रकृतिको दुर्लभ रेडपान्डा सिकार गर्न सजिलो हुने भएकाले पनि कुकुर र अन्य जङ्गली जनावरको आक्रमणमा सजिलै पर्ने गरेको रेडपान्डा नेटवर्कका फिल्ड संयोजक फिञ्जु शेर्पाले बताउनुभयो । रेडपान्डाको संरक्षणका लागि रेडपान्डा नेटवर्कले इलामसहित पाँचथर र ताप्लेजुङमा सन् २०११ देखि काम गरिरहेको भए पनि जङ्गली जनावरबाट जोगाउने कार्यक्रम भने हालसम्म सार्वजनिक भएको थिएन ।
गाउँपालिकाले केन्द्र स्थापना गर्नका लागि चालू आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको छ । टप्पु क्षेत्रमा रहेको करीब दुई हेक्टर जमीनमा केन्द्र स्थापना गरिएको हो । प्रजनन केन्द्रभित्र अहिले सल्ला प्रजातिका रूखबिरुवा रहेकाले उक्त प्रजातिका रूखबिरुवा वनको नियमअनुसार हटाएर रेडपान्डाको आहाराको रूपमा रहेको ट्यागा, मालिङ्गो र भालुचिण्डे लगाउँदै त्यसलाई विस्तार गर्ने प्रवक्ता खनालले जानकारी दिनुभयो ।

देउमाई नगरपालिका काठका पोल हटाउँदै

देउमाइ नगरपालिकाभित्र रहेका काठका पोल हटाउन स्थानीय सरकारले काम शुरु गरेको छ । विद्युत् विस्तार गर्दा गाडिएका काठका पोल मक्किएर विद्युत् प्रसारणलाइन धरापका रुपमा रहेको र त्यसको बदलामा स्टिल पोल लगाउने काम शुरु भएको हो । काठका पोल हटाउने अभियानसँगै नेपाल विद्युत् प्राधिकरण इलाम शाखाको समन्वयमा १५ देखि २५ एम्पियरका साना ट्रान्सफर्मर हटाएर बढी क्षमताको राख्ने काम शुरु भएको देउमाई नगरपालिका प्रमुख सूर्य पोखरेलले बताउनुभयो ।

काठका पोल हटाउनका लागि गत वर्ष रु एक करोड बजेट विनियोजन गरे पनि खर्च हुनसकेको थिएन । कच्च पर्दाथको मूल्य बढ्दा स्टिमेटअनुसार स्टिलपोल पाउन नसकिएपछि चालू आर्थिक वर्षदेखि काठका पोल परिवर्तन गरी स्टिलपोल राख्न शुरु गरिएको हो । यस वर्ष काठका पोल परवर्तनका लागि रु दुई करोड नगरकार्यपालिकाबाट विनियोजित गरिएको छ भने नेपाल विद्युत् प्राधिकरणले रु एक करोड २० लाख सहयोग गरेको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.