Connect with us

संरक्षणको महाअभियान फागुनदेखि

ज्ञानेन्द्र न्यौपाने

रसुवा, २८ माघ लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको जैविक विविधता संरक्षणमा थप प्रभावकारी तुल्याउन फागुन १ गतेदेखि महाअभियान शुरु गर्ने भएको छ ।

उक्त कार्यालयमा आज भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको उच्च हिमाली क्षेत्रको आफ्नो आधार इलाका क्षेत्रमा अवैध क्रियाकलाप रोक्न विशेष गस्तीको महाअभियानमा निकुञ्जका कर्मचारीसहित १६० भन्दा बढी नेपाली सेना परिचालन गर्ने तयारी पूरा भएको जानकारी दिइन् ।

महाअभियान गस्ती फागुन १ गतेदेखि आगामी २०७६ साल जेठ महीनाभर जङ्गलको गस्तीलाई निरन्तरता दिनाका साथै प्रत्येक गौडा गौडामा समेत निगरानी बढाउने निकुञ्जले जनाएको छ । यस्तै गर्मीयाममा लाग्न सक्ने डढेलोप्रति सचेत रही कुनै पनि आगोजन्य वस्तु लाइटर, सलाइजस्ता वस्तु जथाभावी प्रयोग नगर्न निकुञ्जवासीलाई आग्रह गर्दै प्रमुख संरक्षण अधिकृत रानाले संरक्षण कार्य थप प्रभावकारी तुल्याउन सबै क्षेत्रबाट सहयोग मिल्नेमा आफू आशावादी रहेको बताउनुभयो ।

वन, वनस्पति र वन्यजन्तु जैविक विविधता जीवनको महत्वपूर्ण पाटो सम्झी कुनैले अवैध काम गर्न वा गराउन लागेको देख्नसाथ नजीकको निकुञ्ज वा सैनिक पोस्ट र धुञ्चेस्थित तालुक निकायमा खबर गरी दिन निकुञ्जवासीसमक्ष आग्रह गरिएको समेत लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

चोरीका मोटरसाइकल बरामद

काठमाडौँको विभिन्न ठाउँमा चोरी गरी रसुवा भित्र्याएका दुई ओटा मोटरसाइकल रसुवा प्रहरीले कालिकास्थानबाट बरामद गरेको छ ।

जिल्ला प्रहरी प्रमुख सन्तोष तमाङका अनुसार चोरीका कारण विगत लामो समयदेखि खोजतलास भइराखेको बा६९प ३०९२ नीलो रङ्गको २२० सिसी र बा४७प ९८४२ नीलो रङ्गको १८० सिसीको नीलो पल्सर मोटरसाइकल दक्षिणी रसुवाको कालिकास्थानमा एक आकर्षक पसलमा फेला परेपछि ती मोटरसाइकल बरामद गरी थप अनुसन्धानका साथै कानूनी प्रक्रिया अगाडि बढाइएको हो ।

ती दुवै चोरीका मोटरसाइकल एकापसी खरीद–बिक्री हुँदै रसुवाका तीन व्यक्तिसम्म पुगिसकेको भेटिएको र कालिकास्थान मर्मत केन्द्र खोली मेकानिक्ससमेतको संलग्नता भएको आशङ्कामा चार व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसरी पक्राउ पर्नेमा रसुवाअन्तर्गत जिल्ला कालिका गाउँपालिका–२ कालिकास्थानको रवीन्द्र मोटरसाइकल वर्कशपका सञ्चालक ३९ वर्षीय रवीन्द्रकुमार डङ्गोल, नौकुण्ड गाउँपालिका वडा नं २ निवासी २२ वर्षीय बहादुर लोप्चन, सोही ठाउँका ३२ वर्षीय पासाङ थोक्रा तमाङ र कालिका गाउँपालिका–५ वस्ने ३६ वर्षीय शेरबहादुर तामाङ रहेको प्रहरी प्रमुख तामाङले जानकारी दिनुभयो ।

पक्राउ परेका चारै जनालाई चोरी मुद्दाअन्तर्गत थप अनुसन्धान भइरहेको र अन्य व्यक्तिसमेत हुन सक्ने प्रहरीको अनुमान रहेको बताइएको छ । चोरीका कार्य न्यूनीकरण गरी नेपाल–चीन बीचको अन्तर्राष्ट्रिय राजमार्ग सुरक्षित पारी रसुवा जिल्लाको छविलाई उच्च पार्न रसुवा प्रहरीले अवैध कामको निगरानी, राजमार्ग गस्तीका साथैसाथै जीउधनको सुरक्षाका लागि नेपाल प्रहरी अहोरात्र खटिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

गाउँघरमा हुने स–साना झैझगडाबाट गम्भीर प्रकृतिका समस्या उत्पन्न हुने सक्ने भएकाले गाउँ समाजमा होहल्ला हुन नदिने, आ–आफ्नो उमेरअनुसार एकापसमा शिष्टभावले कुराकानी गर्ने, गाउँको सामाजिक, व्यक्तिगत सरसल्लाह नमिले सम्बन्धित निकायसामु सबै बसी सद्भावपूर्ण तवरले विवाद छिनोफानो गर्ने र कुनै पनि घटनाको जानकारी प्रहरीलाई उपलब्ध गराई शान्तिसुरक्षा प्रदान गर्ने कार्यमा सहयोग गर्न रसुवावासीसमक्ष आग्रह गरिएको प्रहरीले जनाएको छ ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.