Connect with us

प्रदेशको आवश्यकता सङ्घले बुझ्न सक्दैन : राज्यमन्त्री यादव

सुर्खेत, २७ माघ (रासस) स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रप्रसाद यादवले प्रदेशका अवस्था सङ्घले बुझ्ननसक्ने बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित चार दिने ‘विपद् पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा कार्यशाला’ गोष्ठीको समापन कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा यादवले प्रदेशको आवश्यकता प्रदेश स्वयंले बुझ्न सक्ने जनाउनुभयो ।

मानव सूचाङ्कमा २ नम्बर र कर्णाली प्रदेशपछि परेकाले त्यसमा सरकारको विशेष जोड रहनुपर्ने उहाँले बताउनुभयो । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेशमा समयमै संरचना र अधिकार नदिँदा प्रदेश सरकार समस्यामा परेको गुनासो गर्नुभयो । सङ्घीयताको सफल कार्यान्वयनका लागि सङ्घीय सरकार उदारतका साथ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आपत्कालीन तथा विपद् एकाइ, स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख चूडामणि भण्डारीले प्राकृतिक विपद्मा उच्च जोखिममा रहेको कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर गोष्ठी आयोजना गरिएको बताउनुभयो । उहाँले कार्याशाला गोष्ठीबाट निर्मित विपद् प्रतिकार्य योजनालाई सुदूरपश्चिम, कर्णाली प्रदेश र ५ नम्बर प्रदेशका सबै अस्पताल पु¥याउने र तिनलाई अभ्यासमा लैजाने उहाँको भनाइ थियो । उहाँका अनुसार विपद् जोखिम न्यूनीकरण ऐन, २०७५ अन्तर्गत प्रदेशमा उपसमिति गठन गरिने छन् ।

कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि दामोदर अधिकारी, कर्णाली प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्यामलाल कँडेलसहित कार्यक्रममा सहभागी चिकित्सकले प्रतिकार्य योजनाले प्राकृतिक तथा मानवीय विपद् न्यूनीकरणमा सहयोग पुग्ने विचार व्यक्त गरेका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको संयुक्त आयोजना तथा विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा बिहीबारदेखि सो गोष्ठी सञ्चालन भएको थियो ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.