Connect with us

माटोको अभावमा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित

वीरगञ्ज, २४ माघ (रासस) नजिकिँदै गएको सरस्वती पूजाका लागि मूर्ति बनाउन माटोको अभाव हुँदा पर्साको पोखरिया नगरपालिका–९ का कालिगड शिवचन्द्र महतो यसपालि सोचेजस्तो व्यापार नहुने भएपछि चिन्तित देखिनुभएको छ ।

विगत चार वर्षदेखि मूर्ति बनाएर जीविकोपार्जन गर्दै आउनुभएका महतोले माग अत्यधिक भए पनि मूर्ति बनाउने माटोको अभावका कारण यसपालि सोचेजस्तो अत्यधिक मूर्ति बनाउन नसकिएको बताउनुभयो । “पर्याप्त माटोको समस्याले मागअनुसारको सरस्वतीको मूर्ति बनाउन नसकिएको हो”, महतोले राससलाई भन्नुभयो– “एक त माटो पाइँदैन भने अर्कोतिर माटो पाए पनि जग्गाधनीले प्रतिट्र्याक्टर रु ३०० का दरले रकम लिने गरेकाले यसपालि थोरै मूर्ति बनाएको छर ।”

“विगत वर्षमा यो समयमा मूर्ति बनाएरै लाखाँै रुपैयाँ आम्दानी गरे पनि यसपालि भने गहुँको ‘सिजन’ भएकाले राम्रो र सोचेजस्तो माटो नपाउँदा यस्तो अवस्था आएको हो”, परवानीपुरमा मूर्ति बनाइरहेका शिवलखन महतोको गुनासो छ ।

अहिले जिल्लाका विभिन्न ठाउँमा सडक छेउ, दलान, घरआँगनमा मूर्ति बनाउन कस्सिएका कालिगडको सङ्ख्या बढ्दै गएपछि यो व्यवसायले सोचेजस्तो आर्थिक लाभ दिन नसकेको जानकी टोलामा मूर्ति बनाइरहेका रमेश पण्डितले बताउनुभयो । वसन्तपञ्चमी आउँदै गर्दा सामुदायिक तथा निजी बोर्डिङ स्कूलको सङ्ख्या थपिए पनि मूर्ति बनाउने कालिडसमेत बढेकाले यो व्यवसायले पहिलेजस्तो आर्थिक लाभ दिन सकेको छैन ।

पुरानो पुस्ताले भावना र कलाको संयोजनमार्फत काँचो माटो र पराल मिसाई ईश्वरको आकृति दिएर व्यवसाय गर्दैआएकामा युवापुस्ता वैदेशिक रोजगारमा जाने होडबाजीले अहिले यो व्यवसाय पनि प्रभावित हुँदै गएको छ । अहिलेका युवा माटो पराल छुन घिनमान्ने भएकाले पनि यो व्यवसायप्रति युवापुस्ताको आकर्षण घट्न गएको हो ।

श्रीमद्भगवत्गीता अनुसार भगवान श्रीकृष्णको जिब्रोको अग्रभागबाट माता सरस्वतीको उत्पत्ति भएको हो । सरस्वतीको सेतो वर्ण जोतिर्मय ब्रह्माको प्रतीक मानिएकाले सरस्वती बिना यो जगत्मा कसैले विद्या प्राप्त गर्न सक्दैन । शास्त्रअनुसार माता सरस्वतीकै कृपाले कालिदास, महर्षि वाल्मिकी आदिलाई कविको उपाधि प्राप्त भएको हो ।

यही आइतबार श्रीपचञ्मी अर्थात् सरवस्ती पूजा पर्ने भएकाले शनिबारसम्म सबै मूर्ति बिक्नुपर्ने भए पनि विगत दुई दिनयता मौसमको खराबीले घाम उदाउन नसक्दा कालिगडलाई मूर्ति सुकाउन समस्या भएको छ । प्रविधिले विकास गर्दै गए पनि मूर्ति पूजाको आस्थामा भने कमी नआए पनि यो व्यवसायको भविष्य भने उज्ज्वल रहेको कालिगडको भनाइ छ । वर्षेनी विद्याकी देवी सरस्वतीको मूर्ति बनाउने अधिकांश कालिगड भने निरक्षर छन् तर कतिपय कालिगडले मूर्ति बनाउने व्यवसायबाट भएको आम्दानीले आफ्ना छोराछोरीको उज्ज्वल भविष्यका लागि पढाउने गर्दछन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.