Connect with us

सरकार विपक्षी दलको भूमिकालाई गौण गर्न खोज्दैछ– काङ्ग्रेस

सरकार विपक्षी दलको भूमिकालाई गौण गर्न खोज्दैछ– काङ्ग्रेस

काठमाडौँ, ८ पुस (रासस) नेपाली काङ्ग्रसले लोकतन्त्रको संस्थागत विकासमा सत्ताधारी दलसँगै विपक्षी दलको स्थान र भूमिका महत्वपूर्ण हुने भए पनि सरकारले दुई तिहाइ बहुमतको आडमा विपक्षी दलको भूमिकालाई गौण गर्न खोजेको आरोप लगाएको छ ।

आज यहाँ सम्पन्न काङ्ग्रेसको महासमिति बैठकले समसामयिक प्रस्ताव पारित गर्दै सरकारले प्रमुख विपक्षी र अन्य दलले उठाएका राष्ट्रिय जन–सरोकारका विषय र कानूनी व्यवस्थाका प्रावधान पालन गर्न उठाइएका विषयलाई उपेक्षा गरेको जनाएको छ । काङ्ग्रेसले धर्म प्रचारमा संलग्न विवादास्पद अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सम्मेलनमा सरकारको सहभागिता र सहयोगमा सम्पन्न गरिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यसप्रति आपत्ति प्रकट गरेको छ ।

बैठकले सरकारले मुखैमा आएको संसद्को बैठक छलेर कर्मचारी समायोजन अध्यादेश ल्याएर आफूखुशी व्यवस्था गर्ने निर्णय गरेको आरोप लगाउँदै संसद्मार्फत कानूनी व्यवस्था गर्न माग गरेको छ । महासमिति बैठकले राष्ट्रिय प्राकृतिक तथा वित्त आयोग तत्काल गठन गरी सङ्घीय संरचनाको तीनै तहको वित्तीय व्यवस्थापनमा देखिएको अन्योल अन्त्य गर्न सरकारसँग माग गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वर्तमान सरकारले दुई पक्षीय र बहुपक्षीय वैदेशिक सम्बन्धमा नेपालको राष्ट्रिय स्वार्थलाई प्रतिनिधित्व गर्न नसकेको उल्लेख गर्दै काङ्ग्रेसले सरकार व्यक्तिगत नीहित स्वार्थका आधारमा जथाभावी विदेशी ऋण स्वीकार्ने बाटोमा हिँडेको आरोप लगाएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.