Connect with us

कमल तालमा बगैँचा

रुकुम (पूर्व), ६ पुस जिल्लाको मुख्य पर्यटकीयस्थल कमल तालको छेवैमा बगैँचा बन्ने भएको छ । कमल ताललाई आकर्षक तथा थप हेर्न लायक बनाउन तालको पश्चिमतर्फ बगैँचा र अन्य संरचना बनाउन थालिएको हो ।
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले रु तीन करोड १६ लाख बजेट विनियोजन गरेको थियो । अहिले उक्त तालको पश्चिमतर्फ प्रवेशद्धार, टिकट काउन्टर, स्नानकक्ष तथा शौचालय निर्माण भइरहेको छ ।
भौतिक संरचनाको निर्माणपछि बगैँचा निर्माण गरिने निर्माणको जिम्मा पाएको मल्ल कन्स्ट्रक्सन कम्पनीले जनाएको छ । कम्पनीका अनुसार तालको वरिपरि ७०० स्क्वायर फिटसम्म टायलसहितको पैदलमार्ग बन्ने छ । बगैँचा र ताल वरिपरि फलामको रेलिङ लगाइने छ । तालको वरपर तीन प्रतिक्षालय रहनेछन् भने पूर्व र पश्चिमतिर एक÷एक शौचालय बनाइने छ आगामी २०७६ असारभित्रै काम सक्ने गरी काम भइरहेको कम्पनीका प्रतिनिधि श्यामप्रशाद उपाध्यायले बताउनुभयो ।
उक्त कार्यालय र निर्माण कम्पनीबीच विसं २०७४ असार २७ गते सम्झौता भए बमोजिम उक्त दहमा पहिलो चरणको काम भइरहेको कार्यालयले जनाएको छ । “दह संरक्षण तथा उद्यान निर्माणको काम धमाधम भइरहेको छ”, स्थानीयवासी पोखरबहादुर शाहले भन्नुभयो, “ काम सम्पन्न भएपछि कमल ताल व्यवस्थित र सुरक्षित हुनेछ । प्रकृतिले बनेको ताल मानवीय क्रियाकलापले साँघुरिदै गइरहेको अवस्थामा अब संरक्षण हुने भएको हो ।”
ताल हेर्न आउने मानिसले अब मनपरी ढङ्गले भित्र छिर्न नपाउने हुँदा ताल वरिपरि फोहर हुने सम्भावना कम हुने उहाँको भनाइ थियो ।
ताल वरिपरि बनाइने प्रतिक्षालयबाट पनि तालको अवलोकन गर्न तथा फोटो खिच्न सकिने भएको छ । ताल हेर्न आउनेबाट थोरै भए पनि शुल्क लिने कि भन्ने विषयमा छलफल भइरहेको वडा नं ५ का वडाध्यक्ष शान्तेबहादुर विकले बताउनुभयो । ताल हेर्न आउनेलाई टिकट बेचेर आम्दानी गर्ने उद्देश्य नभएर अनुशासन पालना गराउनका लागि पनि थोरै रकम लिँदा राम्रो हुने सुझाव आइरहेको उहाँले बताउनुभयो । पहिलो चरणको ठेक्काबाट तालको आधा–आधी भाग व्यवस्थापन हुने र अर्को चरणमा भनेजस्तो व्यवस्थित बनाइने वडाध्यक्ष विकले जानकारी दिनुभयो ।

 विद्यालयमा डिजिटल हाजिरी
जिल्लाको सिस्ने गाउँपालिकास्थित रुक्मिणी माध्यामिक विद्यालय रुकुमकोटमा डिजिटल हाजिरको व्यवस्था गरिएको छ । विद्यालयले गत भदौदेखि डिजिटल हाजिर प्रयोगमा ल्याएको हो । डिजिटल हाजिर शुरु भएसँगै शिक्षक तथा कर्मचारी विद्यालयमा नियमित हुन थालेका छन् ।
परम्परागत शैलीको रजिस्टरमा हाजिरी हुँदा समयको ख्याल नगर्ने शिक्षक तथा कर्मचारी अहिले समयमै विद्यालय आउन थालेको प्रधानाध्यापक कृष्ण गौतमले बताउनुभयो । पहिले जतिखेर भए पनि विद्यालय पुगे त भइहाल्यो भन्ने मानसिकता शिक्षक तथा कर्मचारीमा थियो”, उहाँले भन्नुभयो, “डिजिटल हाजिर शुरु भएपछि शिक्षक कर्मचारी कुन समयमा विद्यालय आए र गए भन्ने कुराको जानकारी सजिलै लिन सकिने भएकाले शिक्षक तथा कर्मचरी सबै समयप्रति सचेत भएका छन् ।”
डिजिटल हाजिरले विद्यालयमा उपस्थित नभएको दिनको हाजिर गर्ने प्रवृत्तिको पनि अन्त्य भएको छ । डिजिटल हाजिरकै कारण आजकल सबै शिक्षक तथा कर्मचारी बिहान १० बजे विद्यालयमा उपस्थित भई अपरान्ह् ४ बजेसम्म बस्ने गरेका छन् । डिजिटल हाजिर पहिले परीक्षणका लागि मात्र सञ्चालन गरिएकामा यसको प्रभाव राम्रो देखिएकाले अब डिजिटल हाजिरलाई नै निरन्तरता दिइरहने छौँ” प्रअ गौतमले भन्नुभयो । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.