Connect with us

छैरो­मार्फा जोड्ने पक्की पुल निर्माणको काम शुरु

बलेवा, १ जेठ : कालीगण्डकी नदीमाथि यहाँका दुई गाउँ जोड्ने गरी पक्की पुल निर्माणको काम शुरु भएको छ । हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरो चिमाङ गाउँ र वडा नं. २ को तल्लो मार्फा गाउँलाई जोड्ने गरी पक्की पुल निर्माणको काम शुरु भएको हो । कोरोना महामारीबीच निर्माण कम्पनीले पुलको प्रारम्भिक काम थालेको जनाएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वधार मन्त्रालयले यो पुल निर्माण थालेको हो । मुस्ताङ जिल्लामै पहिलो ‘पाएल’ प्रविधिबाट निर्माण हुने यो पुल रु सात करोड ८० लाख २४ हजारको लागतमा सम्पन्न हुनेछ ।

कूल ६४ मिटर १० सेन्टिमिटर लम्बाइ र आठ मिटर ४० सेन्टिमिटर चौडाइमा निर्माण हुने पक्की पुलमा दायाँबायाँ दुबैतर्फ एक मिटर २० सेन्टिमिटर फुटपाथ निर्माण हुने पूर्वाधार विकास कार्यालय जोमसोमका कार्यालय प्रमुख विष्णु पौडेलले बताउनुभयो । पुल निर्माणको जिम्मा पाएको देवेन सायर कन्स्टक्सन प्रालि काठमाडौँले एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने जनाएको छ । कोरोना महामारीको असर नपरे एक वर्षमा पुल निर्माण भैसक्ने गरी सम्झौता भएको इन्जिनीयर पौडेलले बताउनुभयो । यो पुल निर्माणपछि छैरो चिमाङ गाउँमा उत्पादित कृषिजन्य उत्पादन बजारीकरणका लागि सहज हुनेछ भने छैरो गाउँ जाने यात्रुलाई आवतजावतमा सहज हुने छ ।

हिउँदमा मात्रै सवारी चल्ने छैरो गाउँमा अब वर्षैभरि सवारी चल्ने घरपझोङ गाउँपालिका–१ का अध्यक्ष आइतप्रसाद थकालीले बताउनुभयो । कालीगण्डकीमा पुल नहुँदा स्थानीयवासीले वर्षाको समयमा जोखिम मोलेर यात्रा गर्नु परेको थियो । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.