Connect with us

अक्सिजनसहित ३५ श्ययाको आइसोलेशन

डोटी, २५ वैशाख : स्थानीय तहले क्वारेन्टिन तथा आइसोलेशन निर्माण नगरेको भन्दै आरोप लागिरहेका बेला पूर्वीचौँकी गाउँपालिकाले अक्सिजनसहित ३५ श्ययाको आइसोलेशन (कोरोना अस्पताल) कक्ष निर्माण गरेको छ । कोभिड–१९ को दोस्रो चरणको सङ्क्रमणले जिल्लामा आक्रान्त बनाउन थालेपछि बल्ल उक्त गाउँपालिकाले अक्सिजनसहितको आइसोलेशन निर्माण गरेको हो । गाउँपालिकाको केन्द्र सानागाउँमा रहेको सरस्वती आधारभूत विद्यालयलाई अक्सिजनसहित ३५ श्ययाको आइसोलेशन कक्ष बनाइएको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो ।

दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको जिल्लमा अहिलेसम्म अन्य कुनै पनि स्थानीय तहले आइसोलेशन कक्ष निर्र्माण गर्न सकेका छैनन् । पुर्वीचौँकीले निर्माण गरेको आइसोलेशन कक्षमा अस्पतालमै प्रयोग हुने ३५ श्यया जडान गरिएको र आइसोलेशन निर्माण तथा व्यवस्थापन गर्ने काम सम्पन्न भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर खड्काले जानकारी दिनुभयो । आइसोलेशनमा अक्सिजन सिलिण्डर राख्नका लागि आपुर्तीकर्तासँग समन्वय पनि भइरहेको उहाँले बताउनुभयो । यस्तै गाउँपालिकाले सञ्चालनमा ल्याएका दुई बसलाई पनि आवश्यकताका आधारमा एम्बुलेन्सका रुपमा प्रयोग गर्न सकिने कार्यपालिकाको निर्णय भएको बताइएको छ । यसका साथै कोभिड–१९ बाट सङ्क्रमित सबै बिरामीको गाउँपालिकाले निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.