Connect with us

निरयघाटमा मानवसेवा आश्रमको भवन शिलान्यास

गलकोट, २५ वैशाख : लामो समयको प्रयासपछि मानव सेवा आश्रम बागलुङ शाखाको आफ्नै भवन निर्माण थालिएको छ । जग्गा अभावमा भवन निर्माण गर्न नसकेको आश्रमले बागलुङ नगरपालिका–४ निरयघाटमा सुविधासम्पन्न भवन निर्माण गर्न थालेको आश्रमका संयोजक सुमिरा लामाले जानकारी दिनुभयो । स्थापनाकालदेखि युनिटी लाइफले निर्माण गर्न थाली अलपत्र रहेको अस्पताललाई मर्मतसम्भार गरी अहिले बागलुङ–३ किनारा टोलबाट आश्रम सञ्चालित छ । आश्रमको आफ्नै सुविधासम्पन्न भवन निर्माण गर्नका लागि शुक्रबार शिलान्यास गरिएको छ । आश्रमको नयाँ भवनको नगर प्रमुख जनकराज पौडेलले शिलान्यास गर्नुभएको थियो । शिलान्यासपछि नगरप्रमुख पौडेलले नगरपालिकाको पहलकदमीमा निरयघाटको गुठीको पाँच रोपनी जग्गामा आश्रम निर्माण गर्न दिइएको जनाउँदै सडक मानवमुक्त अभियानमा नगरपालिकाको पूर्ण सहयोग रहने बताउनुभयो ।

सडक मानवको उद्धार, पालनपोषण तथा आश्रय प्रदान गर्दै आएको आश्रम २०७३ सालदेखि सक्रिय छ । शाखाले बागलुङसहित म्याग्दी र पर्वतका सडक मानवसमेत उद्धार गर्दै आएको छ । अहिले आश्रमको बागलुङ शाखामा ४५ सहयोगापेक्षी आश्रित छन् । पटकपटकको आग्रह र सबैको चासोपछि निरयघाटको जमीन नगरपालिकाको अगुवाइमा उपलब्ध गराइएको हो । पञ्चगुठीको २० रोपनी जग्गामा नगरपालिकाले कृषि क्याम्पस चलाउने योजना रहेको र पाँच रोपनी आश्रमलाई भवन निर्माणका लागि प्रदान गरिएको नगर प्रमुख पौडेलले जानकारी दिनुभयो । आश्रममा सुविधा सम्पन्न तीनतले पक्की भवनसहित अन्य गतिविधि सञ्चालनका आवश्यक संरचना निर्माण गरिनेछ । आश्रमलाई आर्थिक वर्ष २०७७÷७८ मा गण्डकी प्रदेश सरकारले भवन निर्माण गर्न रु ५० लाख बजेट विनियोजन गरेको छ । उक्त भवनसहित अन्य संरचना निर्माण गर्न रु सात करोडभन्दा बढी खर्च लाग्ने र प्रदेश सरकारले भवन निर्माण शुरु भइसकेपछि थप बजेट प्रदान गर्ने जनाएको छ ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.