Connect with us

एक वर्षभित्र तनहुँलाई अन्धकारमुक्त बनाइँदै

तनहुँ, २ मङ्सिर : एक वर्षभित्र तनहुँ जिल्लालाई अन्धकारमुक्त बनाउने लक्ष्यका साथ विद्युतीकरणको कामलाई तीव्ररूपमा अघि बढाइएको छ । एक सय ४० मेगावट क्षमताको विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाद्वारा प्रभावित भएका क्षेत्रमा विद्युत् विस्तार गर्ने कार्य थालिएको हो । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित उक्त आयोजनाबाट जिल्लाको साविक १७ वटा गाउँ विकास समिति प्रभावित भएका छन् । प्रभावित भएका क्षेत्रमा बिजुली विस्तारका कार्य भइरहेको आयोजना व्यवस्था निर्देशनालय वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना (तनहुँ विद्युतीकरण आयोजना)का साइट इन्चार्ज लक्ष्मण रेग्मीले बताउनुभयो ।

उक्त आयोजनाबाट प्रभावित झण्डै सात हजार घरधुरीका बासिन्दा अन्धकारमा जीवन बिताउन बाध्य छन् । उहाँले भन्नुभयो, “विद्युत् विस्तारकार्यका लागि डेढ वर्षे आयोजना शुरु भए पनि बाढीपहिरो र कोरोनाका कारण सोचेअनुरुप प्रगति गर्न नसकिएको हो ।” पुनः छ महिना म्याद थप गरी आयोजनाको कार्य शुरु गरिएको छ । उहाँले भन्नुभयो, “सेती नदीको दक्षिण र काली नदीको उत्तर क्षेत्रमा विद्युत् विस्तारको काम भइरहेको छ ।” जिल्लाको घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिकाको पूरै, शुक्लागण्डकी, व्यास नगरपालिका, बन्दीपुर र आँबुखैरेनीका बाँकी रहेका क्षेत्रमा विद्युत् विस्तार गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । बन्दीपुर गाउँपालिका–६ स्थित सराङघाट र घिरिङ गाउँपालिका–४ को सामुङमा गरी कूल रु तीन करोडको लागतमा सबस्टेशन निर्माण भइरहेको छ ।

घिरिङ गाउँपालिकाको अन्य क्षेत्रमा बिजुली पुगे पनि गड्यौलीटारमा भने अझै पुर्याउन बाँकी छ । उहाँले भन्नुभयो, “त्यस क्षेत्रमा तत्काल विद्युत् सञ्चालन गर्ने गरी काम भइरहेको छ ।” सबस्टेशन जडानका लागि आवश्यक पर्ने उपकरण करिब ८० प्रतिशत आइसकेको र तारहरू आउन बाँकी रहेको बताइएको छ । विद्युत् प्राधिकरण तनहुँको कार्यक्षेत्रभित्र रहेका करिब ९५ प्रतिशत क्षेत्रमा विद्युत् पहुँच पुगिसकेको प्राधिकरणका सूचना अधिकारी लोकेन्द्रबहादुर कुँवरले जानकारी दिनुभयो । तनहुँका सबै पालिकामा विद्युत् पुगेको भए पनि भित्री क्षेत्रमा छरिएर रहेको बस्तीमा विद्युत् पुर्याउन नसकिएको हो । उहाँले भन्नुभयो, “त्यस्ता क्षेत्रमा विद्युत् विस्तार गरी अन्धकारमुक्त बनाउनका लागि प्राथमिकतामा राखेर काम थालिएको छ ।” विद्युत् प्राधिकरण तनहुँबाट मात्रै करिब ३६ हजार घरधुरीमा विद्युत् लाइन विस्तारकार्य भइसकेको प्राधिकरणले जनाएको छ ।

जिल्लाको म्याग्दे गाउँपालिकास्थित थर्पु बजारदेखि स्याङ्जा र कास्कीसँग जोडिएको पालिकामा कास्की लेखनाथ विद्युत् प्राधिकरण केन्द्रको कार्यक्षेत्र रहेकाले त्यस क्षेत्रको तथ्याङ्कका बारेमा भने आफूलाई जानकारी नभएको उहाँले बताउनुभयो । सामुदायिक विकास कार्यक्रमअन्तर्गत प्रभावित भएका घरपरिवारलाई पहिलो स्थानमा राखेर विकास निर्माणकार्य भइरहेको तनहुँ जलविद्युत् आयोजनाले जनाएको छ । ग्रामीण क्षेत्रका सबै घरधुरीमा बिजुली विस्तारका लागि विद्युत्पोल गाड्ने, लाइन विस्तार र सबस्टेशन निर्माणलगायतका काम दु्रतगतिमा अघि बढाइएको आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटाले बताउनुभयो । विसं २०६८ को जनगणनाअनुसार तनहुँको जनसङ्ख्या तीन लाख २३ हजार २८८ रहेको छ । तनहुँमा ७८ हजार ३०९ घरधुरी रहेका छन् भने दुई हजार ३६२ बस्तीमा छरिएर रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.