Connect with us

पर्यटन प्रवद्र्धन गर्न गुरुयोजना

कञ्चनपुर, ३० भदौ : कञ्चनपुरको महाकाली नगरपालिकाले पर्यटन प्रर्वद्धन गर्न गुरुयोजना निर्माण गरेको छ । नगरपालिका क्षेत्रमा पर्यटक भित्र्याइ आर्थिक गतिविधिमा तीव्रता दिनका लागि पर्यटकीय गुरुयोजना बनाई कार्यान्वयनमा ल्याउने तयारी गरेको हो । पर्यटकीय गुरुयोजनामा शहीद पार्क निर्माण गर्ने, भ्यूटावर निर्माण, बुद्धको ठूलो मूर्ति स्थापना गर्ने, जनजाति होमस्टे स्थापना गर्ने र नगरपालिकाका १९ वटा ठाउँमा पिकनिक स्पट निर्माण गर्नेलगायत रहेका छन् ।

पर्यटकीय क्षेत्रका जाने सडकको स्तरोन्नति गरी कालोपत्रे गर्ने कार्यलाई समेत गुरुयोजनामा राखिएको छ । प्रस्तावित पर्यटकीय क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार निर्माणसँगै होमस्टे सञ्चालनका लागि आवश्यक पर्ने तालीमको व्यवस्था र क्षमता अभिवृद्धि गर्ने कार्यलाई समेत गुरुयोजनामा राखिएको छ नगरपालिकाका इञ्जिनीयर दीपेन्द्रराज भट्टले भन्नुभयो, “पर्यटकीय गतिविधिमा तीव्रता ल्याई नगरपालिकालाई आर्थिकरुपमा सवल बनाउनकै लागि गुरुयोजना बनाइएको छ ।” नगरपालिकाको आन्तरिक स्रोतले पर्यटकीय गन्तव्यको कार्य अगाडी बढाउन नसकिने भएकाले आर्थिक स्रोत जुटाउनका लागि पहल भइरहेको नगरपालिकाका नगर प्रवक्ता दिलबहादुर सिजालीले बताउनुभयो । प्रदेश सरकार र सङ्घीय सरकारसँग आर्थिक स्रोतको व्यवस्थाका लागि आग्रह गरिएको उहाँले बताउनुभयो । गुरुयोजनाअन्तर्गत निर्माण हुने संरचनाका लागि संस्कृति तथा पर्यटन मन्त्रालयले माग गरेअनुरुपको रु ६० लाखको प्रस्ताव पठाएका छौँ उहाँले भन्नुभयो, “प्रस्ताव स्वीकृत भएर आएपछि पहिचान गरिएका स्थानमा पर्यटकीय क्षेत्रका आवश्यक पूर्वाधार निर्माणका कार्य शुरु गरिने छन् ।”

नगरपालिकाले पर्यटकीय गतिविधिलाई बढावा दिनका लागि नगरपालिकाको वडा नं ४ मा रु ५० लाखको लागतमा भ्यूटावर निर्माणका लागि योजना अघि सारेको छ । क्रमागत योजनाअन्तर्गत भ्यूटावर निर्माणको कार्य अगाडि बढाइने भएको छ । भ्यूटावर निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली नदीको दृश्यावलोकनका साथै भारतीय क्षेत्रको दृश्य अबलोकन गर्न पाउने नगरपालिकाको वडा नं ७ का वडाध्यक्ष ज्ञानेन्द्रबहादुर बहेक क्षेत्रीले जानकारी दिनुभयो । यसैगरी नगरपालिकाले वडा नं ४ मा २० लाख बजेट विनियोजन गरी अतिथि गृहनिर्माणको कार्यलाई अगाडि बढाउनका लागि योजना बनाएको छ । नगरवासीको सहज आवतजावतमा सहजतासँगै पर्यटकीय गतिविधिलाई तीव्रता दिनका लागि नगरभित्रका सडक कालोपत्रे कार्यसँगै स्तरोन्नतिको कार्यलाई अगाडि बढाइएको छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.