Connect with us

ब्राह्मणका छोरा लिम्बू भाषाका शिक्षक

इलाम, २३ साउन : इलाम माईजोगमाई गाउँपालिकास्थित सोयाङका उमाकान्त चापागाईं (उकाचा)लाई कुराकानीका सिलसिलामा धेरैले सोध्छन् । “साँची तपाईं शिक्षक होइन, कुन विषय पढाउनुहुन्छ ?”, प्रश्नकर्ताले प्रश्न गरेपछि उकाचाको उत्तर सुन्दा कोही झसक्क झस्किन्छन्, कोही एकोहोरो उहाँलाई हेर्छन् । कोही भने ‘यस्तो पनि हुन्छ र भनेर’ उल्टो प्रतिप्रश्न तेस्र्याउँछन् । कसैले भने, ‘यो भाषा पढ्नुको साटो फरेन ल्याङग्वेज पढेको भए हुन्थ्यो नि’ भन्दै सुझाव दिन्छन् । उकाचा यस्ता प्रश्नको सामाना गर्न तयार हुनुहुन्छ ।

उहाँमाथि बारम्बार प्रश्न आउनुका कारण उकाचा सोयाङकै पूर्णज्योति माध्यमिक विद्यालयको लिम्बू (याक्थुनपान) भाषाको कुनै बेला शिक्षक हुनुहुन्थ्यो । अहिले उकाचाले भाषा पढाउन छाडेको दुई वर्ष भयो तर आफ्नो परिचय लिम्बू भाषाको शिक्षक भनेरै दिन रुचाउनुहुन्छ र चिन्नेले पनि उकाचालाई यही परिचयले चिन्छन् । अहिले उकाचा त्यही विद्यालयमा अङ्ग्रेजी विषय पढाए पनि लिम्बू समुदायले पनि भाषाका बारेमा प्रश्न सोध्न उकाचाकै आउँछन् । किनकि उकाचा लिम्बू भाषामा ‘पोख्त’ हुनुहुन्छ ।

यसरी सिक्नुभयो लिम्बू भाषा

उकाचा लिम्बू जातको बाहुल्य रहेको गाउँमा हुर्किनुभयो । त्यसैले लिम्बू भाषा सिक्न टाढा जानु परेन । सानै उमेरदेखि नै लिम्बू भाषा सिक्नुपर्छ भन्ने थियो भाषा सिक्न निकै मिहेनत गर्नुप¥यो । सँगै बसेका साथीभाइले गरेको संवाद बुझे पनि फर्काउन नजान्दा मन खिन्न हुन्थ्यो । तिनै साथीभाइको सङ्गत र उनीहरुसँगको भाषा अभ्यासले उकाचालाई पनि ‘लिम्बू भाषी’ बनायो ।

“१०÷११ वर्षकै उमेरमा भाषा त बुझ्थे तर फर्काउन सक्दिनथे”, उकाचाले विगत सम्झनुभयो, “सँगै बस्दा उनीहरुको कुरा बुझ्ने तर फर्काउन नआउँदा कस्तो कस्तो लग्थ्यो, मलाई के भन्ठान्लान् जस्तो लाग्थ्यो ।” त्यही क्रममा उहाँले लिम्बू भाषामा बात फर्काउनसमेत सिक्नुभयो । उकाचा भाषा बोल्न मात्रै होइन लिपिमा पनि पोख्त हुनाका कारण अलि बेग्लै छ । जब ०६२÷६३ को आन्दोलनपछि भाषा र संस्कृतिका विषय साह्रै धेरै उठेर आयो । आ–आफ्ना भाषा, धर्म र संस्कृति जोगाउनका लागि भन्दै गाउँगाउँबाटै आवाज उठ्न थाले । उकाचाकै गाउँमा पनि यसको प्रभाव प¥यो । भाषा जोगाउनका लागि आवाज उठ्दै गर्दा उकाचालाई चाहिँ भाषा भनेको जाति विशेषको मात्रै होइन सबैको हो भन्ने लग्यो । “हाम्रो भाषा मासिने भयो भनेर चिन्तामा हँुदा मलाई भाषा त सबैको हो नि जस्तो लाग्थ्यो”, उहाँले भन्नुभयो ।

यही परिवेशले उकाचालाई भाषाको ‘भोक’ले समात्यो । उहाँ भाषा बोलेर मात्रै बच्दैन लिपि पनि जान्नुपर्छ भन्ने चेत खुलेपछि लिपि सिक्नका लागि घरबाट निस्कनुभयो । “धेरैतिर खोजे लिपि पढाउने विद्यालय भेटिन, इलाम नगरपालिकाकै बिब्ल्याँटेमा चाहिँ एक जनासँग सिकेँ”, उकाचाले भन्नुभयो । भाषा बोल्न जानेका उहाँलाई लिपि सिक्न आफूले सोचेजस्तो गाह्रो भएन । लिपि जानेपछि उहाँ गाउँ फर्कनुभयो । गाउँ फर्किएर लिम्बू भाषा जानेकैलाई लिपिका बारेमा बुझ्दा धेरैलाई लिपिको भने ज्ञान नभएको पाउनुभयो । “मैले भाषा बोल्ने केहीलाई लिपिका बारेमा सोधँे तर थाहा रहेनछ”, उकाचाले सुनाउनुभयो, “कतिपय शब्दको अर्थसमेत थाहा नभएको पाएँ ।”

उकाचाका बुबा पण्डित भए पनि छरछिमेको सङ्गतले उहाँलाई पनि भाषाको धेरथोर ज्ञान थियो । परिवारका सबै सदस्यले लिम्बू भाषा जानकार भएकाले उहाँले विद्यालयमा पढाउन जान अप्ठ्यारो पर्ने कुरा रहेन । यता विद्यालयमा बहुसङ्ख्यक विद्यार्थी लिम्बू समुदायका भएकाले भाषा पढाउन माग बढ्न थाल्यो । पढाउनका लागि लिपिसमेत जान्ने व्यक्ति आवश्यक पर्ने भएकाले विद्यालयको पहिलो रोजाइमा उकाचा नै पर्नुभयो । उहाँले कक्षा ५ सम्म लिम्बू भाषा पढाउनुहुन्छ । “अन्य शिक्षकशिक्षिककाले भन्दा फरक तरिकाले म भाषा पढाउँछु, विद्यार्थी पनि पढ्न झुम्मिन्छन्”, उकाचाले भन्नुभयो, “गीतको शैलीमा लिपि घोकाउने गरेको छुँ ।” भाषा जाने पनि आफ्नो मातृभाषा अर्कै भएकाले बोल्ने ‘टोन’ भने भिन्न भएकाले पढाउन गाह्रो भएको उहाँको भनाइ छ । संस्कृति र धर्म एउटा जात विशेषको मात्र हुँदैन भन्ने बुझ्नुभएका उकाचा लिम्बू भाषा पढाउन पाएकामा गर्व महसुस हुने गरेको बताउनुहुन्छ । अरूले ‘ब्राह्मणको छोरो भाषा पढाउने’ भन्दै कुरा गरे पनि आफूलाई समस्या नहुने गरेको उकाचा सुनाउनुहुन्छ ।

जागरण अभियानमा लिम्बू भाषा

केही वर्षअघि विद्यालयमा ‘लिम्बू भाषा जागरण अभियान’ कार्यक्रम चलिरहेको थियो । करीब एक सय मानिसको भेला भएका ठाउँमा लिम्बू समुदायकै मानिस बढी थिए । भेलामा कतिले नेपाली भाषामै भाषण गर्दै थिए भने कतिले लिम्बू भाषामा । स्टेजमा रहेका एक्ला उकाचा मात्रै ब्राह्मण समुदायका हुनुहुन्थ्यो । कार्यक्रममा बोल्ने क्रम चल्दा उद्घोषकले उकाचालाई पनि मन्तव्यका लागि अनुरोध गरेँ । अधिकांश लिम्बू समुदायका मानिसले मन्तव्य राख्ने क्रम चल्दा दर्शकले उकाचाले नेपाली भाषामै मन्तव्य राख्छन् भन्ने लख काटेका थिए तर स्टेजमा पुग्नेबित्तिकै उकाचाले दुई लाइन मात्रै एक लिम्बू भाषाबाट मन्तव्य राख्नुभएको थियो । दर्शक नै दङ्ग परेपछि नेपाली भाषाबाट मन्तव्य दिएर उहाँ फर्किनुभयो । त्यस दिनदेखि गाउँमा अधिकांश उकाचाको प्रतिभा चिने भने लिम्बू समुदायको ‘प्रतिभा’ भन्ने सम्झिए ।

बहुभाषा भएको नेपालमा भाषाको संरक्षणमा मुलुक नलागेको देख्दा भने उकाचालाई चित्त दुख्छ । सबै भाषाको प्रवद्र्धन गर्न राज्यले भाषा शिक्षण शुरु गर्नुपर्ने उकाचाको भनाइ छ ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.