Connect with us

कर्णाली राजमार्गको कष्ट

सिञ्जा, १९ साउन : कर्णाली राजमार्गको आवतजावत पुनःसञ्चालन हुन सकेको छैन । निर्वाध पहिरो जाने घटनाले यात्रुलाई यात्रा गर्न निकै सास्ती र जोखिम छ । कर्णाली राजमार्गको कालीकोट सडकखण्डको दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालीगाड, भैँसीगौँडा, टिमुरे भीड, खल्लागाड, धनडा, राँचुली भीग्मलगायतका दर्जनौँ स्थानमा पहिरो गएपछि करिब एक सातादेखि राजमार्ग अवरुद्ध भएको थियो । कतै खोला बढेर गाडी पार गर्न गाह्रो त कतै पहिराले सडक अवरुद्ध भएपछि यातायात सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिनुभयो ।

“कालेखोला, दहीखोलालगायतका स्थानमा डोजर लगाएर सडक खोलिसकेको छ”, प्रहरी नायब उपरीक्षक ओलियाले भन्नुभयो, “आज पिली सडकको पहिरो हटाउने काम भइरहको छ । आजका दिनसम्म सडक खुल्छ होला”, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धाँमीले कालीकोटको टाकुल्ला खोलादेखि जुम्लासम्मको सडकखण्ड सञ्चालन भएको बताउनुभयो । बाढी पहिराले सडक बन्द भएपछि पाँच दिन लगाएर पनि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले बोलाएको समीक्षामा सहभागी हुन नसकिएको जिल्ला कृषि विकास तथा पशुसेवा कार्यालय जुम्लाका कार्यालय प्रमुखद्वय बालकराम देवकोटा र गोविन्द महतले जनाउनुभयो । “मन्त्रालयले कर्णालीका १० जिल्लाका कृषि तथा पशु कार्यालयका प्रमुखलाई यही साउन १५–१७ गतेसम्मको वार्षिक प्रगति समीक्षामा बोलाएको थियो”, कृषि विकास कार्यालयका प्रमुख देवकोटाले भन्नुभयो, “साउन १३ गते हिँड्दा १७ गतेसम्म कालीकोट सडकखण्डमा आएको बाढी र पहिराको अवरोधमा परियो ।” यता भेटेनरी तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले समीक्षामा सहभागी हुनेभन्दा जीवन जोगाएर बल्लतल्ल घर फर्कन सफल भइएको जनाउनुभयो ।

जिल्ला वन कार्यालय मुगु तथा जुम्लाका जिल्ला वन अधिकृतद्वय भरत बुढ्थापा र दिनेश खत्रीले जीवनमा पहिलोपटक चार दिन लगाएर कष्टकर यात्रा गर्नुपरेको दुखेसो गर्नुभयो । कर्णाली राजमार्गको स्तरवृद्धि नगरे एवं पुल निर्माणमा तदारुकता नदिएसम्म यहाँका नागरिकले वर्षेनी यही समस्या भोग्नुपर्ने उहाँहरुको भनाइ थियो । जुम्लाका उद्योगी महेन्द्र थापाले राज्यको नेतृत्व गर्नेको कमजोरीका कारण कर्णालीवासी प्राकृतिक विपद्को शिकार हुनुपरेको बताउनुभयो । वैकल्पिक मार्ग निर्माण नभएसम्म यो समस्या सजिलै नटर्ने उद्योगी थापाले जनाउनुभयो ।

व्यवसायी भानु देवकोटाले ज्यानको जोखिम मोलेर यात्रा गर्नुपर्ने समस्याबाट कर्णालीवासी कहिले मुक्त हुने हो भन्ने प्रश्न गर्नुभयो । मुलुक सङ्घीयतामा गइसकेपछि पनि कर्णालीका नागरिकको दुःख टर्न नसकेको व्यवसायी देवकोटाले गुनासो गर्नुभयो । खाँडाचक्र नगरपालिका– ६ कालीकोटका तरकारी व्यवसायी ठम्मप्रसाद आचार्यले तीनै तहका सरकारले सडक स्तरोन्नतिमा ध्यान नदिँदा स्थानीय व्यवसायी तथा यात्रुले पटकपटक दुःख भोग्नुपरेको गुनासो गर्नुभयो । चार दिनसम्म सडक अवरुद्धमा पर्दा रु ७० हजारको तरकारी कुहिएर गएको उहाँको भनाइ थियो । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.