Connect with us

पर्यटकीय गन्तव्य बन्दै बढालेक

बाजुरा, १९ साउन : बाजुराको बढालेक मन्दिर धार्मिक आस्थाको धरोहरका रुपमा परिचित छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–७ ओलीगाउँमा रहेको बढालेक क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । पर्यटकीय सम्भावना बोकेको उक्त क्षेत्रलाई जिल्लाकै नमूना गन्तव्यका रुपमा विकास गर्न स्थानीयवासी सक्रिय छन् । मन्दिर पुनःनिर्माणदेखि बाटो तथा गेट निर्माण कार्य सम्पन्न गरिसकेका छन् भने धर्मशाला र बासस्थान भवन पनि निर्माण भएका छन् । रारा खप्तड यात्राका बीचमा पर्ने र पर्यटकलाई आवातजावत गर्न सजिलो हुने हुँदा बढालेकमा भक्तजन बस्ने बासस्थानमा पानीका धारा निर्माण गरिएको छ भने मन्दिर पुग्न उकालो चढ्नुपर्ने बाटोमा १५० मिटर सिंढीलाई सिमेन्टेड बनाइएको छ । ठूलो घण्ट राख्ने र यात्रुलाई सहज प्रवेश गर्ने मूल गेटसमेत निर्माण गरिएको छ ।

जिल्लाकै ठूलो ताल छेडेदह, जिल्लाकै सुन्दर समथर भूमि र पर्याप्त हरियाली जङ्गलले भरिएको ठाउँ, ऐतिहासिक कुडीकोट दरबारको शिरका रुपमा रहेको बढालेक मन्दिर पर्यटकीय गन्तव्यका लागि प्रचूर सम्भावना बोकेको छ । प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष नरबहादुर राउतको भनाइ छ । मन्दिर १० हजार ३० फिट उचाइमा पर्छ । प्रत्येक वर्ष जनैपूर्णिको अघिल्लो दिन पूजा लाग्छ भने भगवतीको दर्शनका लागि साविक आटीचौर, बह्मतोला, डोगडी, गुदुखातिलगायतका गाविस र बझाङ, अछाम डोटीबाट पनि दर्शनार्थी आउने गरेको युवा समाजसेवी रणबहादुर ओलीले बताउनुभयो । यो वर्ष पनि यसको निरन्तरता देखिएको बढालेक पुगेका ओलीको भनाइ छ ।

ओलीगाउँबाट तीन घण्टाको उकालोपछि बढालेक मन्दिरमा पुगिन्छ । सो क्षेत्रबाट खप्तड राष्ट्रिय निकुञ्जको अधिकांश भाग, बडिमालिका, अछामको मङ्गलसैन, साइपाल हिमाल, जेठी बउरानी, पोरखे लेकलगायत क्षेत्र सहजैरुपमा नियाल्न सकिन्छ । बढालेक क्षेत्रलाई स्थानीयवासीले संरक्षित क्षेत्रका रुपमा विकास गर्ने मागसमेत गरेका छन् । तीन वटा ठूला घाँसे मैदान, लोपोन्मुख ५० बढी प्रकारको जडीबुटी, डेउला निकागाका फाँट, पर्याप्त लौठी सल्ला डाँफे मुना, मृग हरिण, ब्वाँसालगायतका पशुपक्षी उक्त क्षेत्रमा पाइने गरेका छन् । हालसम्म भैँसी लिने र चरिचरनका लागि खुला गरिँदै आएको बढालेक क्षेत्रमा चरिचरनसहित मान्छेको खुला प्रवेशमा समेत स्थानीयवासीले रोक लगाउने निर्णय गरेका छन् । राष्ट्रिय वन क्षेत्रमा पर्ने भए पनि उपभोगका आधारमा चलन हक लाग्ने स्थानीय लालबहादुर ओलीले बताउनुभएको छ । ओलीगाउँवासीले संरक्षित क्षेत्रका रुपमा विकास गर्ने लिखित निर्णय नै गरेका छन् । सत्ययुगमा सत्य देवी र महेश्वर राक्षससँग लडाई हुँदै गर्दा देवीको तल्लो ओठ खसेको किंवदन्तीअनुसार बडीमालिकाले दिने वर सबै बढालेक भगवतीले दिन्छन् भन्ने धार्मिक विश्वास रहेको त्यहाँका स्थानीयवासीको विश्वास छ । स्थानीयवासीले बढालेक भगवती बडीमालिका भन्दा जेठी भएको दाबी गर्छन् ।

लोप हुँदै लोपोन्मुख जडीबुटी

जिल्लाको हिमाली गाउँपालिका– १, २ र ३ बिच्छया जडीबुटीका लागि प्रख्यात ठाउँ हो । तर अहिले आएर त्यहाँ संरक्षण अभावले सङ्कटग्रस्त तथा लोपोन्मुख जडीबुटी लोप हँुदै गएको छ । हिमाली गाउँपालिका– १ हिमाली सामुदायिक वनका उपभोक्ता समूहका सदस्य बृखबहादुर भण्डारीले भन्नुभयो, “पहिला जडीबुटी धेरै पाइन्थ्यो, अहिले मनोमानीरुपले तस्करी बढेपछि जडीबुटी पाइनै छोडेको उहाँको भनाइ छ । बाजुराको ४० प्रतिशत भू–भाग ओगटेको बिच्छया भौगोलिक दृष्टिकोणले निकै विकट छ ।”

बिच्छया जस्तै बाजुरा, हुम्ला, मुगु, डोल्पा, बझाङ जिल्लाका धेरै ठाउँमा जडीबुटीको निकै सम्भावना रहेको भनिए पनि हाल उत्पादन घटेको छ । यसको एउटै कारण हो, जडीबुटी जथाभावी सङ्कलन गरिनु र वन विनाश हुनु हो । बाजुरमा मात्रै करिब २०० भन्दाबढी प्रकारका बहुमूल्य जडीबुटी पाइने गरेको डिभिजन वन कार्यालय बाजुराको तथ्याङ्क छ । पाँचऔँले विश्वमै लोपोन्मुख प्रजाति भएकाले यसको सङ्कलन गर्न नेपाल सरकारले नै प्रतिबन्ध लगाएको छ, । बाजुरा बिच्छ्या, रुगीन, जुकोट, वाई, साप्पाटा, गोत्री, जगन्नाथ, कोल्टी, दहकोट, पाण्डुसैन, मार्तडी, कैलासमाण्डौँ, आटीचौर, मानाकोटलगायत ठाउँमा धेरै जडीबुटी पाइन्थे । यी ठाउँका अधिकांश स्थानीयवासीको आम्दानीको मुख्य स्रोत नै जडीबुटी थियो ।

हिमाली गाउँपालिका– ३ का वडाध्यक्ष ध्यानेबहादुर रोकायाले भन्नुभयो, “एक मौसममा एक जनाले पाँच लाखदेखि ५० लाखसम्म आम्दानी जडीबुटीबाट गर्थे । तर अहिले जङ्गल फँडानी, जथाभावी जडीबुटी सङ्कलन र जथाभावी वनमा आगो लगाउने गरेका कारण जडीबुटी नाश हुँदै गएका छन् । जडीबुटी जथाभावी सङ्कलन गर्नाले तथा पुनरोउत्पादन र पुनरोपण कसैबाट नहुँदा जडिबुटी लोप हुन लागेको गौमुल गाउँपालिका–१ का जडीबुटी व्यवसाय गङ्ग धाँमीले बताउनुभयो ।

जडीबुटी सङ्कलन तथा बिक्रीवितरणको काम नियमन तथा नियन्त्रण गर्ने निकाय स्थानीय र सरकार डिभिजन वन कार्यालय भने यसमा मौन जस्तै रहेको आरोप स्थानीय बासिन्दाले लगाउँदै आएका छन् । पहिला जङ्गलमा जडीबुटी धेरै पाइन्थ्यो । अहिले भने धेरै कम भएको स्थानीय बासिन्दा काले नेपालीले बताउनुभयो । जडीबुटी सङ्कलन गर्ने व्यक्तिले पनि जरासमेत नरहने गरी उखेल्न थालेपछि जडीबुटी लोप हुँदै गएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो । डिभिजन वन कार्यालयबाट थोरैको सङ्कलन पूर्जी लिएर ठेकेदार र उपभोक्ताको मिलोमतोमा बढी जडीबुटी सङ्कलन हुने गरेको बिच्छ्याका अङ्गलाल थापाले बताउनुभयो । ठेकेदारका अनुसार बाजुरा जिल्लाबाट वर्षेनी रु २० करोडभन्दा बढीको जडीबुटी बाहिर जान्छ । तर डिभिजन वन कार्यालयले भने रु १० करोडजतिको कारोवार हुने अनुमान गरेको छ । ठेकेदारले उभोक्तालाई मात्र ठगी गरेका छैनन् । उनीहरुले राजस्वसमेत छल्दै आएका छन् । डिभिजन वन कार्यालय बाजुराका अनुसार, आर्थिक वर्ष २०७४÷०७५ मा १५ प्रकारका, दुई लाख ६४ हजार ३०४ केजी जडीबुटी सङ्कलन भएको थियो तर सङ्कलन इजाजत भने ४९ हजार ४६५ केजीको मात्र लिइएको थियो ।

बाजुराको ४८ प्रतिशत भू–भाग वनले ढाकेको छ । डिभिजन वन कार्यालय बाजुराका प्रमुख भीमप्रसाद कँडेलका अनुसार बाजुरामा सङ्कटग्रस्त तथा लोपोन्मुख सतुवा, वन लसुन, कुट्की, पाँचआँैले, सुगन्धवाल, जटामसी, विषजरा, चिराइतो आदि जडीबुटी पाइन्छन् । यहाँ झ्याउ, सुगन्धवाल, कुरिलो, पाखनवेद, रिठा, काउलो, तेजपात, बोझो, कचुर, टिमुर, अल्लो, लोक्ता, लौठसल्ला, चुत्रो, निगालो, कुटकी, जटामसी, भूतकेश, सतुवा, चिराइतो, च्याउ र सुनगाभा पाइन्छन् । बाजुरामा ६५ प्रजातिका गैरकाष्ठ वन पैदावार तथा जडीबुटीमध्ये २६ प्रजातिका जडीबुटीको व्यापार हुन्छ । बाजुराका ३०६ वटा सामुदायिक वनले १९ हजार १३७ हेक्टर भू–भाग ओगटेका छन् । जिल्लाका नौवटा स्थानीय तहमध्ये सबैभन्दा बढी जडीबुटी हिमाली गाउँपालिकामा पाइन्छ । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.