Connect with us

शुक्लाफाँटा : थोरै क्षेत्रफलमा धेरै बाघ

महेन्द्रनगर, १४ साउन : क्षेत्रफलका हिसाबले पाटेबाघका लागि पर्याप्त नभए पनि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ रहेका छन् । विश्वकै दुर्लभ बाह्रसिङ्गाका रुपमा परिचित शुक्लाफाँटामा थोरै क्षेत्रफलमा धेरै बाघ भएको अर्को चर्चा बटुल्न थालेको छ । ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, चोरी शिकार नियन्त्रणलगायत कारणले बाघको सङ्ख्या बढिरहेको निकुञ्जको भनाइ छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले एउटा बाघले कम्तीमा ४० वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने गरेको बताउनुभयो । “क्षेत्रफलका हिसाबले शुक्लाफाँटामा अन्त्यको भन्दा धेरै बाघ छ नै”, प्रमुख संरक्षण अधिकृत पौड्यालले भन्नुभयो, “यो बाघका लागि राम्रो बासस्थान पनि हो ।”

उहाँले चुरे पहाडदेखि जोडिएको शुक्लाफाँटाभित्र कूल क्षेत्रफलको एक तिहाइ घाँसेमैदान, तालतलैया र बाघका लागि प्रशस्त आहारा प्रजाति रहेको बताउनुभयो । “निकुञ्ज प्रशासन, नेपाली सेनालगायत सुरक्षा निकाय, मध्यवर्ती क्षेत्रका उपभोक्ता तथा युवा समितिहरुको पनि संरक्षणमा ठूलो योगदान रहेको छ”, पौड्यालले भन्नुभयो, “चोरीशिकार शून्य अवस्था छ ।”

बधुबार विश्व बाघ दिवसका अवसरमा शुक्लाफाँटा निकुञ्ज परिसरमा बाघको होर्डिङ बोर्ड अनावरण गरिनुका साथै बाघ संरक्षण र चुनौतीलगायत विषयमा प्रस्तुति रहेको पौड्यालको भनाइ छ । सन् २०१३ को गणनाअनुसार १७ बाघ रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा एकले कमी आएको छ । निकुञ्जको वरिपरि मानव बस्ती भए पनि बाघ र मानवबीच द्वन्द्व नरहेको निकुञ्ज कार्यालयले जनाएको छ । चोरीशिकार न्यूनीकरणका लागि शुक्लाफाँटाको चौतर्फी नेपाली सेनाको देवी दल गण खटिएको छ । यहाँको लालझाडी, ब्रह्मदेव र डडेल्धुरा जिल्लाको सिमानालगायत जङ्गलमा बाघ आवतजावत गर्ने गरेको भए पनि बाघको प्रमुख बासस्थान शुक्लाफाँटा नै भएको निकुञ्जको भनाइ छ । भारतबाट पश्चिमी नाका गड्डाचौकी हुँदै नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको रोजाइमा शुक्लाफाँटा न्यून मात्रामा पर्ने गरेको छ । यहाँबाट आउने पर्यटकहरु धेरैजसो बर्दिया, पोखरालगायत क्षेत्रमा जाने गरेको गड्डाचौकीस्थित अध्यागमन कार्यालयले जनाएको छ । सरकारले सन् २०२२ सम्ममा बाघको सङ्ख्यामा दोब्बर बनाउने घोषणा गरेको छ । सन् २०१८ को गणनाअनुसार हाल नेपालमा २३५ वटा बाघ छन् ।

त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले पर्यटकीय मौसममा लकडाउन(बन्दाबन्दी) हुँदा घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको जनाएको छ । प्रमुख संरक्षण अधिकृत पौड्यालका अनुसार गत आर्थिक वर्षमा आन्तरिक तथा बाह्य गरी यहाँ एक हजार ७७५ जना मात्रै पर्यटकले शुक्लाफाँटाको अवलोकन गरेका छन् । अघिल्लो आवमा भने शुक्लाफाँटामा छ हजार ६९ पर्यटकले शुक्लाफाँटा अवलोकन भ्रमण गरेका थिए । “बन्दाबन्दीले पर्यटक आगमन निकै कम भयो”, उहाँले भन्नुभयो, “बन्दाबन्दीमा दाउरा, निउँरोलगायत अवैध काममा सक्रियहरु धेरै कारवाही गरिए ।” शुक्लाफाँटा घुम्न फागुनदेखि जेठसम्मको समय उपयुक्त मानिन्छ ।

त्यसैगरी, निकुञ्जले गत आवमा रु एक करोडभन्दा बढी राजश्व सङ्कलन गरेको जनाएको छ । त्यस्तै निकुञ्जभित्रका विभिन्न क्षेत्रमा वन्यजन्तुको पानीको प्यास मेटाउन कृत्रिम ताल निर्माण, सडक सुधार, प्राकृतिक तलाउहरुको सरसफाइलगायत कामहरु भएको पौड्यालको भनाइ छ । शुक्लाफाँटामा सन् २००८ देखि स्वचालित क्यामरा प्रविधिबाट बर्सेनी बाघ गणना तथा अनुगमन भइरहेको छ । यसअघि बाघको पाइला र दिसापिसाब सङ्कलन गरी बाघको तथ्याङ्क सङ्कलन गरिने गरिएको थियो । तथ्याङ्कअनुसार शुक्लाफाँटामा ७८ दशमलव ६२ प्रति वर्गकिलोमटिर आहारा प्रजातिको घनत्व छ । त्यस्तै मानवीय क्रियाकलापका कारण बाघका आठ प्रजातिमध्ये तीन प्रजाति बाली, क्यास्पियन र जाभा लोप भइसकेका छन् । बाँकी रहेका पाँच प्रजाति आमुर, सुमात्रा, साउथ चाइना, इन्डो–चाइनिज र रोयल बँगाल (पाटेबाघ) को अवस्था पनि दयनीय रहेको वन्यजन्तुको संरक्षणका क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घसंस्थाहरुको तथ्याङ्कहरुले देखाएको छ । लोप हुन बाँकी रहेका पाँच प्रजातिका बाघहरु नेपाल, भारत, बङ्गलादेश, चीन, भूटान, बर्मा, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, रसिया, थाइल्यान्ड र भियतनामा मात्रै सीमित छन् । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.