Connect with us

ऐतिहासिक काष्ठमण्डपमा धुरी राखियो

काठमाडौँ, ११ साउन – ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । विश्वसम्पदा सूचिमा सूचिकृत हनुमानढोका परिसरमा रहेको सो सम्पदाको शनिबार धलिं (मुख्य दलिन) पूजा सम्पन्न भएको छ । धलिंलाई काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अंग मानिन्छ । यो काष्ठमण्डपको धुरीमा रहेको हुन्छ । श्रीखण्ड तरुमुल महाविहार (सिखंमू बहाः) या गुर्जु यज्ञमानपति बज्राचार्यको नेतृत्वमा वज्रयानी परम्पराअनुसार पूजासम्पन्न भएको हो ।

पूजामा कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी प्रदेशसभाका सांसद एवं पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्य, उपाध्यक्ष तेजरत्न ताम्राकार र २० वडाका वडाध्यक्ष राजेन्द्र मानन्धरको सहभागिता रहेको थियो । सो अवसरमा महानगरपालिकाका प्रमुख शाक्यले अबको ध्यान सम्पदा पुनःनिर्माणमा केन्द्रित हुने र निर्माण÷पुनःनिर्माणको काम तीव्रगतिका साथ अघि बढाउने जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७७÷७८ को बजेटमा ९० बढी शीर्षकमा सम्पदाको संरक्षण र पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले बजेट विनियोजन गरेको छ । सोही अवसरमा काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले पुनःनिर्माणको करिब ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । विसं २०७५ वैशाखबाट पुनःनिर्माणको शुरु भएको हो । अध्यक्ष शाक्यले काम समयसीमाभित्रै सम्पन्न हुने दाबी गर्नुभयो ।

उहाँले महोत्तरी, चितवन, पर्सा, सिन्धुपाल्चोकलगायतका ठाउँबाट अग्राखको काठ ल्याएर सातौँ शताब्दीमा प्रयोग भएको प्रविधिबाटै पुनःनिर्माण गरिरहेको जानकारी दिनुभयो । “सातौँ शताब्दीमा जुन प्रविधि प्रयोग भएको थियो, त्यस्तै प्रविधिबाट हामीले निर्माण गरेका छौँ”, उहाँले भन्नुभयो, “जुन इँटा, माटो प्रयोग भएको थियो । हामीले त्यही प्रयोग गरेका छौँ ।

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको काष्ठमण्डप पुनःनिर्माणका लागि महानगरपालिकाले पहिलो चरणमा रु ५० लाख, दोस्रो र तेस्रो चरणमा रु पाँच–पाँच करोड दिएको छ । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक सम्पदा तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्य राखिएको छ । उक्त ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएको छ । निर्मणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको हो ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएका थिए । सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो । (रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.