Connect with us

राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण भर्ने काम शुरु

बनेपा, ८ साउन :काभ्रेपलाञ्चोक जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण भर्ने काम शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न आवश्यक कक्षको व्यवस्थापन गरी काम शुरु गरेको हो ।असार ३१ गतेदेखि शुरु गरिएको विवरण भर्ने क्रममा आजसम्म ६१ जनाले विवरण भरिसकेको विवरण दर्ता अपरेटर सीता भण्डारीले बताउनुभयो । “विवरण भर्नका लागि पहिला हामीले फोटो खिच्छौं, त्यसपछि औँंठाछाप, डिजिटल हस्ताक्षरलगायतका विवरण भरेपछि आधिकारिक प्रतिनिधिबाट स्वीकृत भएपछि हामीले सम्बन्धित व्यक्तिलाई एक प्रति दिन्छौँ र एक प्रति कार्यालयमा राख्छौँ”, उहाँले भन्नुभयो, “माथिबाट परिचयपत्र तयार भएर आएपछि बोलाएर वितरण गर्नेछौँ ।”

राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न आउनेहरुका लागि जिल्ला प्रशासन कार्यालयले व्यवस्थापन गरेको कक्षमा दुई जना विवरण दर्ता अपरेटरले काम गरिरहेको छ ।व्यक्तिको सबै विवरण लिनका लागि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु गरेको काभ्रेपलाञ्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमार्गांइले बताउनुभयो । गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र व्यवस्थापन विभागबाट सो कार्य भइरहेको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयलाई सिसिटिभी हस्तान्तरण

धुलिखेल नगरपालिकाले बजार क्षेत्रमा सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने उद्देश्यले बजार क्षेत्रमा जडान गरिएको सिसिटिभी जिल्ला प्रहरी कार्यालयले निगरानीले गर्ने गरी हस्तान्तरण गरिएको छ । बजारको विभिन्न क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने काम सम्पन्न भएपछि नगरपालिका प्रमुख अशोक ब्याञ्जुले सिसी क्यामेरा विभिन्न शहरमा राखेको पाए पनि त्यसको अनुगमन, निगरानी र मर्मतसम्भार कहीँ पनि राम्रो नभएकाले त्यसको व्यवस्थापन र संरक्षण जिल्ला प्रहरी कार्यालयलाई जिम्मा दिएको उहाँले बताउनुभयो ।

धुलिखेलको मुख्य बजारक्षेत्र हुँदै मुख्य सडक अरनिको र बिपी राजमार्ग, पनौती जाने सडकमा भएगरेका गतिविधिलाई निगरानी गर्दै शान्ति सुरक्षाको व्यवस्था गर्नमा सहयोग पुग्ने उहाँले बताउनुभयो । चालु आवमा थप ३० स्थानमा सिसिटिभी जडान गरिने उहाँको भनाइ थियो ।कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सिसीटिभी जडानको कार्यले अब धुलिखेल नगरपालिकालाई अपराधमुक्त नगरपालिकाका रूपमा स्थापित गर्न मद्दत पुग्ने बताउनुभयो । नगरपालिकाको करिब रु १५ लाखमा नगरका विभिन्न १० स्थानमा सिसी क्यामेरा जडान गरेको र त्यसको निगरानी जिल्ला प्रहरी कार्यालयबाट भइरहेको जनाइएको छ ।(रासस)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.